१९ वर्षअघि शक्तिशाली देश अमेरिका रोएको दिन

फाइल तस्बिरः डिडब्लु डटकम

गन्थन डेस्क

आज अर्थात सेम्टेम्बर ११ । विश्वकै शक्तिशाली देशमा आँशुको सागर बगेको दिन । १९ वर्ष अघिको दिनलाई अमेरिकामात्रै हैन विश्वले सँधै सम्झिरहनेछ । जसलाई सेप्टेम्बर ११ को हमला ९११ को रूपमा पनि उल्लेख गरिएको छ ।

 

मंगलबार बिहान ११ सेप्टेम्बर, २००१ मा संयुक्त राज्य अमेरिकामाथि इस्लामिक आतंकवादी समूह अलकायदाद्वारा हवाई आक्रमण गरिएको थियो । यो आतंककारी हमलाहरूको एक शृङ्खला थियो।  आक्रमणले २ हजार ९९६ जनाको ज्यान लियो । ६ हजार बढी घाइते भए । र, कम्तीमा १० अरब डलरको आधारभूत संरचना र सम्पत्ति क्षति भएको तथ्यांक छ ।

 

स्थानीय समयअनुसार झन्डै बिहान ८ बजेर ४६ मिनेट जाँदा न्युुर्योकको वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा एक जेट एयरलाइन्सको विमान ठोक्कियो चारैतर्फ भागदौड मच्चियो । मानिसहरुले केही सोच्न पाउनुुअघि नै ९ बजेर ३ मिनेट जाँदा फेरि अर्को जेट विमान दक्षिणी टावरमा ठोक्कियो । विमान ठोक्किदाँ टावरमा भयानक आगो लाग्यो । हेर्दाहेर्दा ती दुई भवन ढले ।

 

उक्त दिन १९ जना अपहरणकर्ताले ४ वटा विमान अपहरण गरेर त्यो दर्दनाक आत्मघाती हमला गराएका थिए । यसमध्ये २ वटा विमान वर्ल्ड ट्रेड सेन्टर र एउटा विमान अमेरिकी रक्षा विभागको केन्द्रीय भवन पेन्टागनमा खसालियो । चौथो विमान पेन्सिलभेनियास्थित सेन्कभिल्लको एक खेतमा खस्यो । अपहरणकारीसहित चारवटै विमानमा सवार कुुल २ सय ६५ जनाको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

 

ईस्लामिक अतिवादी संगठन अलकायदाले यस हमलाको जिम्मेवारी लियो । यस समय ओशामा बिन लादेन अलकायदाका प्रमुख थिए । हमलाको भोलिपल्टै अमेरिकाले अलकायदाविरुद्ध युद्ध घोषणा गरेको थियो । तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुुसले हमलाको बदला लिने घोषणा गरे ।

 

हमलाको झन्डै १ दशकपछि अर्थात् सन् २०११ मा बल्ल अमेरिकी इन्टेलिजेन्स ब्युरोले ओशामा बिन लादेनको ठेगाना पत्ता लगायो । गुप्तचरहरुका अनुसार उनी पाकिस्तानको अबोट्टावादमा लुकेर बसेका थिए ।

 

तत्कालीन राष्ट्रपति बाराक ओबामाले २९ अप्रिलमा बिन लादेन बसेको ठाउँमा हमला गर्न आदेश जारी गरे । त्यसपछि २ मे, सन् २०११ मा अमेरिकी सेनाले पाकिस्तानमा बसेका लादेनलाई मारिएको थियो ।

(एजेन्सीको सहयोगमा)

कमेन्टहरु
Loading...