बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा कागजातसहित ६ जना पक्राउ

मोरङ । मोरङमा बलात्कारको घटनामा अभियुक्तहरुसंग मिलापत्र गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर ५ का ६५ वर्षीय धनेशु खवास, सोही ठाउँका सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, जिल्लाको रंगेली नगरपालिका वडा नम्बर १ का ६७ वर्षीय जगत नारायण खवास तथा बेलबारी नगरपालिका वडा नम्बर ८ का ५३ वर्षीय मथालु खवास रहेका छन् । उनीहरुलाई बिहीबार प्रहरीले आ–आफ्नै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मिलापत्र गराएको कागजात समेत बरामद गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार उनीहरुले संयुक्त रुपमा पीडित युवतीलाई रकम दिने लोभमा मिलापत्र गराएका थिए ।

गत भदौ ५ गते जिल्लाको धनपाल गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय सुरेश खवासले धान खेतमा मल छर्ने क्रममा २१ वर्षीय युवतीलाई बलात्कार गरेका थिए । बलात्कार पश्चात फरार रहेका सुरेशलाई समेत प्रहरीले रंगेली नगरपालिका वडा नम्बर ७ रंगेली बजारबाट यही मंसिर १९ गते पक्राउ गरिसकेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...