गन्थन संवाददाता
लमजुङ । लमजुङ प्रहरीले हत्या अभियोगमा फरार एक महिला अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार २०६४ साल बैशाख १५ गते भएको हत्या घटनाका फरार प्रतिवादी पदमी गुरुङ पक्राउ परेकी हुन् ।
जिल्ला अदालत लमजुङले हत्या अभियोगमा ९ वर्ष ६ महिना २१ दिन कैद सजाय सुनाएपनि फरार रहेकी साबिक ढोडेनी गाविस–७ हाल दोर्दी गाउँपालिका–६ सिमी गाउँका तत्काल १८ बर्षीय हाल ३२ वर्षीया पदमी गुरुङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका हो ।
उनले जङ्गलमा घाँस काट्न जाँदा सोही ठाउँ बस्ने २५ बर्षीय पिचौटी गुरुङलाई ढुङ्गा तथा दाउरा प्रहार गरी हत्या गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार फरार गुरुङ सोही समयदेखी वैदेशिक रोजगारीका सिलसिलामा ईराक गई हालसम्म उतै बसी एक महिना अगाडी घर फर्किएकी थिइन् ।
प्रहरीले सुचनाको आधारमा उनको माइती घरबाट बुधबार पक्राउ गरी अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएकोे छ ।