गायनमा भविष्य खोज्दै नेपाल आइडलमा भाग लिनेको पोखरामा भिड्

पोखरा, २९ माघ/एपीवान टेलिभिजनले आयोजना गरेको गायन रियालिटी सो ‘नेपाल आइडल’ को शनिबारदेखि पोखरामा अडिसन सुरु भएको छ । अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको टेलिभिजन एपीवानले गर्न लागेको सर्वाधिक पुरस्कार राशिको गायन प्रतियोगिताको अडिसन आइतबार पनि गैह्रापाटनको नवीन उच्चमाविमा हुँदैछ ।

दुई दिन प्राथमिक चरणको छनोट हुने र त्यसपछि दोस्रो चरण गरी केन्द्रीय प्रतिस्पर्धाका लागि चयन गरिने नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । उनले संख्यामा कञ्जुस्याइँ नगरी उत्कृष्ट गाउने जतिलाई काठमाडौंमा हुने केन्द्रीय प्रतिस्पर्धाका लागि छनोट गरिने बताए । ‘पोखरामा उत्साहजनक सहभागिता छ,’ उनले भने ।

शनिबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म अडिसन भएको थियो । कास्कीबाहेक तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खा, बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट सहभागीहरु गायनमा भविष्य खोज्दै प्रतियोगितामा आएका थिए । यो प्रतियोगिताको अडिसन र अरु चरणहरु चाँडै नै नियमित प्रसारण आरम्भ हुने ‘एपी १’ टेलिभिजनबाट देखाइनेछ ।

अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । प्रतियोगिताको विजेताले महिन्द्रा केयुभी वान ओओ कार, २० लाख नगद पुरस्कार र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बमको करार पनि प्राप्त गर्नेछ ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउँछन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत यसमा भाग लिन सक्छन् । आइडलको अडिसन नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज र विराटनगरमा सम्पन्न भइसकेको छ ।

कमेन्टहरु
Loading...