थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट त्रिभूवन पौडेल पुरस्कृत

पोखरा, १४ जेठ/थमन–महेश स्मृति पत्रकारिता पुरस्कार–२०७५ बाट पत्रकार त्रिभूवन पौडेल सोमबार पुरस्कृत भएका छन् ।

पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक स्वर्गिय थमन परियार र अर्का पत्रकार महेश पहारीको स्मृतिमा तत्कालिन क्रान्तिकारी पत्रकार संघद्वारा स्थापित तथा प्रेस संगठन कास्कीद्वारा सञ्चालित पुरस्कारबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पौडेल पुरस्कृत भएका हुन् ।

उनलाई प्रतिनिधि सभाका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, सांसदहरु रामजी बराल जीवन, प्रभा कोइराला, प्रेस संगठनका नेता सन्देश श्रेष्ठलगायतले पुरस्कार अर्पण गर्दै दोषल्ला लगाएर सम्मान गरेका थिए । पुरस्कारको राशी नगद २५ हजारसहित दोषल्ला र सम्मानपत्र रहेको छ ।

पुरस्कृत पौडेल दुई दशकदेखि पत्रकारितामा कृयाशिल छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पौडेल, तत्कालिन क्रान्तिकारी पत्रकार संघ कास्कीका अध्यक्ष, प्रेस सेन्टर गण्डकी प्रदेशकासमेत अध्यक्ष हुन् । वि.सं २०५७ सालमा स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका पौडेल वि.सं २०५९ सालदेखी पोखरा हटलाईन दैनिकको संवाददाता हुँदै हाल सम्पादक पदमा कार्यरत छन् । उनले रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, युग प्रवाह साप्ताहिक लगायतमा समेत काम गरे ।

पुरस्कृत व्यक्तित्व पौडेलले पुरस्कारले आफूलाई थप हौषला प्रदान गरेको बताए । उनले विगतमा जोखिम मोलेर युद्ध पत्रकारितासमेत गरेको स्मरण गर्दै अनेकौं आरोह अवरोह छिचोल्दै अगाडि बढ्दा सम्मानसमेत दिलाएको भन्दै मेहनत गरे फल प्राप्त हुन्छ भन्ने पुष्टी भएको बताए ।

यसअघी उक्त पुरस्कारबाट अग्रज पत्रकार कोमलनाथ बराल, महेश्वर दाहाल, रुद्र भट्ट र गोमा घिमिरे पुरस्कृत भईसकेका छन् । कार्यक्रममा प्रतिभा छनौट समितिका संयोजक कोमलनाथ बरालले प्रतिभा छनौट र स्वर्गिय थमन परियार र महेश पहारीको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै स्वर्गिय क्रान्तिकारी पत्रकार कृष्ण सेनको बारेमा शोधपत्र गरेका सुरेश रानाभाटले कृष्ण सेनको बारेमा प्रष्ट पार्दै उनले गरेको जनपक्षिय पत्रकारिता र जीवनीबारे भनाई राखेका थिए ।

प्रेस संगठनका नेता तथा साविक प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस संगठनका नेता तथा साविक प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले स्वागत र प्रेस संगठनका नेता तथा साविक प्रेस सेन्टर कास्कीका सचिव कृष्ण दवाडीले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...