सिल्दुजुरेमा टुक्रे योजनाको अन्त्य

पोखरा, २८ चैत /कास्कीको सिल्दुजुरे गाउँ विकास समितिमा टुक्रे योजनको अन्त्य भएको छ । साना योजनाले दीर्घकालीन विकास हुन नसकेको गुनासो बढेपछि गाविसले एकलाख भन्दा सानो रकमको योजना छनौट नगरेको हो ।

सिल्दुजुरेमा टुक्रे योजनाको अन्त्य
सिल्दुजुरेमा टुक्रे योजनाको अन्त्य

आइतबार गाविसमा भएको सार्वजनिक सुनुवाईका क्रममा गाविस सचिव रामकृष्ण बास्तोलाले गाउँको विकासका लागि देखिने गरी योजना सञ्चालन गर्ने भन्दै साना योजनाको अन्त्य भएको घोषणा गरे । सरकारले गाविस तहमा धेरै रकम पठाईसक्यो, उनले भने–तर त्यो बजेटबाट खासै उपलब्धीमुलक काम भएको पाईएन, त्यसैले यो बर्षदेखि एकलाख भन्दा साना योजना हामीले छनौट गरेनौं ।

पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरुले गाविस तहमा लक्षित बर्गको बजेटबाट प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन् । सरकारले विपन्न र पछाडी पारिएका समुदायलाई विकासको मुलधारमा समाबेश गराउने उद्देश्यले यस्ता समुदायको क्षमता विकास र आर्थिक समृद्धीका लागि प्रतिशतका आधारमा बजेट ब्यवस्था गरेको छ । स्थानीय निकाय श्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधिले महिलाको प्रत्यक्ष फाईदा पुग्नेगरी १० प्रतिशत, बालबालिकाका लागि १० र अन्य लक्षित समुहका लागि १५ गरी कुल पूँजीगत बजेटको ३५ प्रतिशत बजेट ब्यवस्था गरिएको छ ।

तर यो बजेट नियमानुसार विनियोजन भएपनि उनीहरुले नै आर्थिक विकासको क्षेत्रमा बजेट लगानी गर्न नसकेका हुन् । स्थानीय महारुद्र मावीका प्रधानध्यापक गंगाधर बरालले गाविसबाट प्रतिशतका आधारमा बजेट दिईएको भएपनि उपलब्धीमुलक ठाउँमा खर्च नभएको बताए । लक्षित बजेटहरु भवन र तालिममा मात्रै खर्च भएको छ, उनले भने–पटक पटक तालिम लिएर पनि कुनै प्रगती हासिल हुन सकेको छैन । उनका अनुसार सीप विकास र आर्थिक उपार्जनको क्षेत्रमा रकम लगानी हुन सकेको छैन ।

स्थानीय गोपाल सापकोटाले पनि लक्षित बर्ग बजेट दीर्घकालीन हुने आयोजनामा प्रयोग हुन नसकेको बताए । सशक्तीकरणका नाममा थुप्रै तालिम र गोष्ठी भएका छन्, उनले भने–तर एउटा निवेदन लेख्न पनि शिक्षक खोज्दै हिड्नुपर्ने बाध्यता छ, यस्तो कार्यक्रमले के परिबर्तन हुनु ? सिल्दुजुरे गाउँ विकास समितिको चालू बर्षको दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले आयआर्जनका योजनाहरु छनौट गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...