पोखरामा हड्प्न खोजेको ७ सय ६८ रोपनी जग्गा सरकारी स्वामित्वमा

पोखरा १४ चैत्र /पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीमा रहेको ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम भौतिक संरचना निर्माण गरेको साविक छिनेडाँडा गा.वि.स. वडा न. ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना जग्गा सरकारी स्वामित्वमा आएको हो ।

१५ नम्बर वडा कार्यालय, पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीको सक्रियतामा जग्गा सरकारी स्वामित्वमा ल्याउन सफल भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । सरकारी जग्गा व्यक्तिले हडप्ने क्रम बढ्दै गएपछि त्यहाँ निर्मित केहि टहराहरु हटाईएको थियो । जग्गासम्बन्धि मुद्धामा सर्वोच्च अदालतले २०७२ साल फागुन २३ गते जग्गा कुनैपनि व्यक्ति विशेषको नभएको ठहर गरेपछि वडा कार्यालयले जग्गा संरक्षणको पहल गरेको थियो ।

जग्गामा नेपाल प्रहरी प्रदेश नं ४ को तालिम केन्द्रसहितको मुख्यालय, खेलकूद विश्वविद्यालय, प्रदेश स्तरीय संग्रहालय र नमुना पार्क लगायतका संरचना निर्माण गर्ने विषयमा छलफल चलिरहेको वडा अध्यक्ष पौडेले बताए । जग्गा सरकारी स्वामित्वमा ल्याउन सहयोग गर्ने स्थानीयबासी, प्रहरी प्रशासन, महानगरपालिका, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुलाई वडा अध्यक्ष पौडेलले धन्यवाद ज्ञापन गरेका छन् ।

आगामी दिनमा सरकारी जग्गाको दुरुपयोग नगर्न पनि उनले सबैलाई आग्रह गरे । देश संघीय ढाचामा गईसकेको अवस्थामा समग्र विकास र परिर्वतन गर्नका निमित्त सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व र जिम्मेवारी सबैको भएको उनले बताए ।

कमेन्टहरु
Loading...