पोखरा महानगरमा कस्ले जित्ला चुनाव, यस्तो थियो अघिल्ला चुनावको नतिजा

प्रकाश ढकाल/पोखरा २७ बैशाख/ स्थानीय चुनाव नजिकिँदै जादा कुन तहमा कुन पार्टीको नेतृत्व आउँला भन्ने बहस बजारमा शुरु भएको छ। कास्कीका पाँचवटै स्थानीय तहमा पार्टी र स्वतन्त्र उम्मेद्वारी समेत दिएका छन् । गाउँपालिका भन्दा पोखरा लेखनाथ महानगरपालिकामा चुनावी चर्चा बढी छ। चुनावी परिणामको सम्भावना केलाउँदा अघिल्ला चुनावको नतिजा अध्ययन गर्नुपर्ने हुन्छ।

पोखरा लेखनाथ महानगरपालिका कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रका केही भाग मिसिएर बनेको छ। २ र ३ नम्बर क्षेत्र सबै महानगरमा मिसिएको छ भने १ र ४ का केही गाविस तथा साविक नगरपालिकाका वडा मिसिएका छन्। १ नम्बर क्षेत्रअन्तर्गत कालिका र माझठाना तथा लेखनाथ नगरपालिकाको १ देखि १५ नम्बरसम्मको वडा र क्षेत्र नम्बर ४ अन्तर्गत कास्कीकोट, चापाकोट, भदौरेतामागी र पुरुञ्चौर गाविस तथा साविक पोखरा उपमहानगरपालिकाका २, २५, २६, २७ र २९ नम्बर वडा पनि महानगरमा समायोजन भएको छ। यसअघिका संसदीय चुनावमा एमाले र काँग्रेसले दुर्इर दुर्इ क्षेत्र जितेका थिए।

महानगरमा पूर्ण समायोजन भएको क्षेत्र नम्बर २ काँग्रेसले र ३ एमालेले जितेको थियो। २०६४ को पहिलो संविधानसभा चुनावमा २ मा माओवादीका राजकाजी गुरुङ र ३ मा एमालेका रवीन्द्र अधिकारीले चुनाव जितेका हुन्।

पोखराको स्थानीय चुनावमा २ र ३ नम्बर क्षेत्रको प्रभाव बढी हुन्छ। ६४ मा दुवै क्षेत्रबाट काँग्रेसले प्रत्यक्षतर्फ १९ हजार आठ सय ७३ मत प्राप्त गर्दा एमालेले २४ हजार २३ मत पाएको थियो। यस्तै माओवादीको २१ हजार सात सय ५८ मत थियो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा काँग्रेसले २२ हजार चार सय ७० मत पायो भने एमालेले २४ हजार चार सय २८ र माओवादीले १० हजार ३६ मत प्राप्त गर्न सक्यो। यो चुनावमा अलि बढी समानुपातिकतर्फको मतले दलगतरुपमा जितका लागि निर्देशित गर्ने राजनीतिक विश्लेषक बताउँछन्। समानुपातिकतर्फ ६४ मा काँग्रेसले २० हजार ४२ मत पाएको थियो। एमालेले २३ हजार पाँच सय ९० मत र माओवादीको २७ हजार २७ मत थियो। २०७० मा काँग्रेसले दुवै क्षेत्रबाट समानुपातिकतर्फ १९ हजार पाँच सय ३६ मत ल्याउँदा एमालेले २१ हजार दुर्इ सय ७३ र माओवादीले नौ हजार आठ सय १४ मतमात्र पायो।

पोखरा लेखनाथ महानगरको वडा सहितको नक्सा
पोखरा लेखनाथ महानगरको वडा सहितको नक्सा

यसले पोखरा लेखनाथ महानगरपालिकामा काँग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ। समानुपातिकतर्फ ६४ मा काँग्रेसलाई तीन हजार पाँच सय ४८ मतले पछि पारेको एमाले २०७० मा एक हजार सात सय ३७ मतले मात्रै अगाडि थियो। यसबाहेक १ र ४ नम्बर क्षेत्रका इकाइ पनि उसैगरी विभाजित छन्। दलगत हिसाबले भदौरेतामागी, चापाकोट, मौजा र माझठानाका महानगरमा मिसिएका वडामा काँग्रेस केही अगाडि देखिन्छ। कालिका, पुरुञ्चौर र कास्कीकोटमा एमालेको पल्ला बढी छ। १ नम्बर क्षेत्रको साविक लेखनाथ नगरपालिकामा काँग्रेस र एमालेको समान जस्तै उपस्थिति छ। हाल कायम भएका २७ र २८ नम्बर वडामा काँग्रेस अगाडि देखिन्छ भने २९, ३१ र ३३ नम्बर वडामा एमाले अगाडि छ। २६, ३० र ३२ नम्बर वडा दुवै पार्टीको उस्तै छ। ४ नम्बर क्षेत्रअन्तर्गत साविक पोखरा उपमहानगरपालिकाका २, २५, २७ र २९ मा काँग्रेस केही अगाडि देखिन्छ। साविक २५ नम्बर वडा भने स्थानीय निकायको दुवै चुनावमा एमालेले जितेको ठाउँ हो।

२०४९ मा भएको स्थानीय निकायको चुनावमा हाल महानगर बनेका साविकका स्थानीय निकायमा एमालेभन्दा काँग्रेसको हावी देखिन्छ। २०५४ सालमा भने एमाले काँग्रेसभन्दा अघि थियो। २०४९ मा पोखरा नगरपालिकासहित भदौरेतामागी, चापाकोट, पुम्दीभुम्दी, हेमजा, मौजा, माझठाना, भरतपोखरी, लामाचौर, लेखनाथ क्षेत्रका शिशुवा, राखी र अघौं काँग्रेसले जितेको थियो। एमालेले सराङकोट, कास्कीकोट, भलाम, काहुँ, आर्वा, कालिका, कृस्ति, निर्मलपोखरी, पुरुञ्चौर, वेगनास र अर्मलामा जित हात पारेको थियो। २०५३ मा लेखनाथ नगरपालिका गठन भएसँगै ५४ को चुनावमा लेखनाथसहित, पुम्दी, सराङ्कोट, कास्कीकोट, हेमजा, पुरुञ्चौर, मौजा, भलाम, काहुँ, आर्वा, कालिका, माझठाना, भरतपोखरी, कृस्ती, निर्मलपोखरी, लामाचौर, अर्मला र पोखरा उपमहानगरपालिका समेत एमालेले जितेको ठाउँ हो। त्यसताका चापाकोटमात्रै काँग्रेसले जितेको थियो।

स्थानीय चुनाव नभएको झण्डै २० वर्ष पुग्न लागेको छ। यो अवस्थामा कुन पार्टीे जित्छ भनेर अनुमान लाउन सक्ने स्थिति पनि कम छ। समग्रमा हेर्दा काँग्रेस र एमालेबीच कडा प्रतिष्पर्धामै महानगरको नेतृत्व चयन हुनेछ। माओवादी केन्द्र र नेपाली काँग्रेसले महानगर प्रमुखका लागि संयुक्त उम्मेद्वार तय गरेका छन्। केन्द्रिय सहमतिअनुसार माओवादी केन्द्रका उम्मेद्वार विश्वप्रकाश लामिछानेले उम्मेद्वारी फिर्ता लिएर काँग्रेसको तर्फबाट उम्मेद्वारी दिएका रामजी कुँवरलाई दुवैले आफ्नो उम्मेद्वार स्वीकारेका छन्। गरिएको सहमति हुबहु कार्यान्वयन भए एमालेभन्दा गठबन्धन अगाडि देखिन्छ। तर हुवहु कार्यान्वयन हुने सम्बन्धमा धेरैको आशंका छ।

एमालेबाट प्रमुखमा दावेदारी प्रस्तुत गरेका मानबहादुर जिसी पनि काँग्रेसका लागि बलियो प्रतिष्पर्धी हुन्। उनलाई साविक लेखनाथ क्षेत्रको समर्थन बढी रहेको बुझिएको छ। यद्यपि पोखरा क्षेत्रमा पनि उनी कमजोर उम्मेद्वार होइनन्। विगतका चुनावमा भेगको प्रभाव खासै नदेखिए पनि यसपालि यसको असर पनि पर्न सक्छ। स्थानीय चुनावमा उम्मेद्वारको व्यक्तित्वमा पनि फरक नतिजा निस्कन सक्छ। महानगरको प्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी छ भने उपप्रमुखमा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। महानगरमा वैशाख ३१ को चुनावले एक सय ६७ जना निर्वाचित गर्नेछ भने यसका लागि आठ सय ४२ जनाले उम्मेद्वारी दिएका छन्। यहाँ एक लाख ६८ हजार ६७ जना मतदाता छन् भने ९८ मतदान स्थल रहेको छ।

कमेन्टहरु
Loading...