कास्कीमा स्थानीय चुनावको इतिहास (को भए मयेर सहित)

प्रकाश ढकाल
तत्कालीन पोखरा नगरको चुनाव कास्कीको सबैभन्दा पहिलो स्थानीय चुनाव हो । २०१६ सालमा नगरपालिका घोषणा भएपछि नगर प्रमुख र उपप्रमुखको चुनाव भएको थियो । तसर्थ कास्कीका लागि स्थानीय निकायमा सबैभन्दा पहिलो जनप्रतिनिधीका रुपमा शिव वहादुर थापा नगरपालिकाको प्रमुख बनेका थिए भने भक्त बहादुर भट्टराई उप प्रमुख बने ।

स्थानीय चुनाव हुन थालेपछि कास्कीमा ८ जनाले जिल्ला पञ्चायतको प्रधानपञ्च तथा ४ जना जिल्ला सभापति बने । यस्तै १० जना नगरपञ्चायतको प्रधानपञ्च बनेपछि ३ जना मेयरको रुपमा काम गरे । पञ्चायती ब्यवस्था लागू भएपछि देशैभर गाउँ पञ्चायत र नगर पञ्चायतको चुनाव भएको थियो । छानिएका सदस्यहरुबाटै प्रधानपञ्च र उपप्रधानपञ्च छान्ने ब्यवस्था थियो, त्यो पनि मतदाताले हात उठाएर ।

‘उम्मेदवारको नाम भनेर मतदातालाई हात उठाउन लगाउने चलन थियो । हात उठाएर भोट हालेको मलाई पनि याद छ, कास्की जिविसका पूर्व सभापति पूण्य पौडेल भन्छन्–चुनाव भएपनि उबेला चुनावको खासै महत्व थिएन । जनप्रतिनिधीले मन फुकाएर सेवा गर्ने अवस्था पनि बनेन ।’ २०१८ मा कास्कीका ६५ गाउँ पञ्चायतको चुनाव भयो भने २०१९ मा जिल्ला तथा नगर पञ्चायत चुनाव भयो । गोप्य मतदानबाट भएको चुनावमा जिल्ला पञ्चायतको प्रधानपञ्च लक्ष्य बहादुर गुरुङ भए भने उपप्रधान पञ्चमा चन्द्रसिं घले निर्वाचित भए । पञ्चायती ब्यवस्थापछि पहिलो पटक उम्मेदवारले धरौटी नै राखेर उम्मेदवारी दिनुपर्ने ब्यवस्था थियो ।

यस्तै नगरपञ्चायतको प्रमुखमा नगेन्द्र बहादुर रायमाझी र उपप्रमुखमा अम्बर बहादुर कार्की निर्वाचित भएका थिए । २०२४ सालमा पुनः अर्को चुनाव भयो, पञ्चायती ब्यवस्था मै । २४ को जिल्ला पञ्चायत प्रमुख त्यसअघिका उपप्रमुख चन्द्रसिं घले बने । उपप्रधानपञ्च भए भोजराज सुवेदी । चन्द्रसिंह त्यसपछि पनि लगातार दुई पटकसम्म जिल्लाको प्रधानपञ्च बनेका थिए । उनको पालामा बिमल बहादुर दिन थापा र अम्बर बहादुर कार्की उपप्रधानपञ्च बने । सोही समयमा भएको नगरपञ्चायको चुनावमा अम्बर बहादुर कार्की प्रधानपञ्च बनेका थिए भने विश्वमोहन गौचन उपप्रधानपञ्च बनेका थिए । २८ सालको चुनावमा नगरपञ्चायत प्रमुख रुद्रबहादुर कार्की बने भने उपप्रमुख दिलिप कुमार पालिखे बनेका थिए ।

४ बर्षपछि ३१ सालमा अर्को चुनाव भयो, नगरपञ्चायतकै । प्रमुखमा दिलिपकुमार पालिखे निर्वाचित हुँदा उपप्रमुख डम्बर बहादुर कार्कीले जिते । कार्यकाल नसकिँदै अर्को चुनाव भयो । रमेश बहादुर भट्टराई प्रधानपञ्च र उपप्रधानपञ्च डम्बर बहादुर कार्कीले पुगनपुग सात महिना कार्यकाल चलाए । त्यतिबेलै जिल्ला पञ्चायतमा पनि चुनाव भएको थियो । कास्की जिल्ला पञ्चायतको प्रधानपञ्च अम्बर बहादुर कार्की र उपप्रधानपञ्च देवीरमण न्यौपाने चुनिए ।
त्यसपछि मात्रै स्थानीय निर्वाचनको रुपमा २०३२ सालदेखि लगातार चुनाव हुन थाल्यो । पहिलो चुनावमा जिल्ला पञ्चायतको प्रधानपञ्च नरविरजंग शाही बनेका थिए भने राम प्रसाद अधिकारी उपप्रधानपञ्चको रुपमा निर्वाचित भए । उहिबेला भएको नगरपञ्चायतको चुनावले गणेश शेरचन प्रधानपञ्च र डम्बर बहादुर कार्कीलाई निर्वाचित गरायो । पाँचबर्ष पछि २०३८ सालदेखि दुई कार्यकालसम्म जिल्ला पञ्चायतमा अम्बर बहादुर कार्की प्रधानपञ्च बन्दा रमेशराज पौडेल र गंगा बहादुर गुरुङ उपप्रधानपञ्च बनेका थिए । ३८ सालमा नगरपञ्चायत तर्फ ९ महिनाका लागि श्रीप्रसाद गुरुङ प्रधानपञ्च र लक्ष्मण कार्की उपप्रधानपञ्च बनेका थिए । त्यसपछिको चुनावमा उत्तम पुन प्रधानपञ्च तथा डम्बर बहादुर कार्की र काजीमान गुरुङ उपप्रधानपञ्च बने । ४१ सालमा सूर्य बहादुर केसी प्रमुख बन्दा उपप्रमुखमा काजीमान गुरुङको दोश्रो कार्यकाल सकिएर तीर्थ श्रेष्ठ बने ।

त्यसपछि एकैसाथ सबै स्थानीय निकायको चुनाव भयो । कास्कीको ४३ गाविस, एउटा नगरपालिका र जिल्ला विकास समितिमा एकैसाथ जनप्रतिनिधी चुनिएका थिए । २०४९ मा जिविस कास्कीमा काँग्रेसको तर्फबाट महादेव गुरुङ जिविस सभापति बने भने यज्ञ बहादुर थापा उपसभापति बने । नगरपालिका तर्फ भोला थापा मेयर बन्दा नरेश शंकर पालिखे उपमेयर बनेका थिए । त्यसपछि २०५४ मा भएको दोश्रो चुनावमा जिविस कास्कीमा एमालेबाट पूण्य पौडेल सभापति तथा श्रीनाथ बराल उपसभापति बने । पोखरा उपमहानगरपालिकामा एमालेका कृष्ण थापा मेयर निर्वाचित हुँदा मान बहादुर गुरुङ उपमेयर बनेका थिए । २०५३ मा गठन भएको लेखनाथ नगरपालिकामा एमालेबाटै शालिग्राम पौडेल मेयर निर्वाचित हुँदा गोपालमान गुरुङ उपमेयर बनेका थिए ।

त्यसपछि स्थानीय निकायको चुनाव भएको छैन । २०६० सालमा राजा ज्ञानेन्द्रले कमलमान गुरुङलाई सभापति र डा. महेन्द्र बहादुर कार्कीलाई उपसभापति बनाए । दुईबर्षपछि उनीहरुको कार्यकाल सकियो र रमेशबहादुर भट्टराईलाई सभापति तथा गंगा बहादुर गुरुङलाई उपसभापति बनाईएको थियो । कार्यकाल नसकिँदै देवीजंग गुरुङलाई उपसभापति नियुक्त गरिएको थियो । नगरपालिकामा पनि राजा ज्ञानेन्द्रले २०६२ सालमै मेयर र उपमेयर चुनेका थिए । पोखरा उपमहानगरपालिकामा भीमसेन थापा मेयर र जयलाल पुन उपमेयर बनेका थिए । लेखनाथ नगरपालिकामा भने २०६० मा हरिबहादुर हरिजन मेयर र दिनेश राजभाट उपमेयर चुनिएका थिए । ६२ सालमा बिष्णु पोख्रेल मेयर र मोहन बहादुर बस्नेत उपमेयर बनेका हुन् । त्यसपछि देशभरजस्तै कास्कीका गाविस, नगरपालिका र जिविस जनप्रतिनिधी विहिन छन् ।

३२ गाविस एक उपमहानगरपालिका र एक नगरपालका रहेको कास्कीमा राज्य पुनर्संरचनापछि एक महानगरपालिका र ४ गाउँपालिकामा सीमित छन् । यसअघि ३ सय ३५ वडा रहेको कास्कीमा ७२ वडा कायम भएको छ । २०५४ मा जिविस, नगरपालिका र गाविसमा २ हजार २ सय २७ जनप्रतिनिधी चुनिएको कास्कीमा नयाँ संरचनापछि ३ सय ८१ जना मात्रै चुनिनेछन् । २०४९ मा नगरपालिका सहित १५ गाविसमा अध्यक्ष जितेको एमालेले २०५४ मा उपमहानगर र नगरपालिका सहित ३६ गाविसमा जितेको थियो । ४९ मा २७ गाविसमा अध्यक्ष जितेको कांग्रेस भने ५४ मा ५ वटा गाविसमा मात्रै अध्यक्ष जित्न सफल भएको थियो । ४९ मा धम्पुस गाविस राप्रपाले जितेको थियो भने ५४ मा धम्पुस सहित सिल्दुजुरे र मिजुरेडाँडामा राप्रपाको जित भएको थियो । भदौरेतामागी गाविसमा भने भक्त बहादुर गुरुङले स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए ।

कमेन्टहरु
Loading...