गन्धर्व नाटक घरमा जेठ ९ गते देखि ‘तिर्खा’ मञ्चन हुने

नाटक १६ वर्ष माथीकोले मात्र हेर्न पाइने

पोखरा, ५ जेठ/पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गतेबाट मञ्चन हुने भएको छ । आयोजक पोखरा थिएटरले शनिबार पोखरामा पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार नाटक जेठ २५ गतेसम्म निरन्तर मञ्चन हुनेछ । पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुने यो नाटकको यतिबेला रिहर्सल भइरहेको थिएटरले जनाएको छ ।

नाटक ‘तिर्खा’ सन १९२४ मा न्यू ईंगल्याण्डको ग्रामिण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो । मातृत्वको अभावले सृजना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रहरुको चाहना, त्यो प्राप्तिका लागि गरिने आशक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ । झण्डै एक शताब्दी अघि लेखिएपनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको यस नाटकका निर्देशक चे शंकरले जनाए ।

यो नाटकको परिकल्पना समेत चे शंकरले गर्दैछन् । राजधानी काठमाडौंमा रहेर नाटकमा जमेका चे शंकरले पोखरेली कलाकारलाई लिएर नाटक गरेका हुन् । सन् २०१२ मा इलुजन नाटकबाट निर्देशन शुरु गरेका उनले हालसम्म एक दर्जन बढी नाटक निर्देशन गरिसकेका छन् ।नाटकमा पोखरेली कलाकारहरु शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ ।

नाटक अमेरिकि नाटककार युजिन ओनिलले लेखेका हुन् । उनले लङ डेज जर्नी इन टु नाइट, वियोन्ड द युनिभर्स, अ विल्डरनेस, आना क्रिष्टी आदी नाटक लेखेका छन् ।नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेरलाई पनि देखाइने जनाइएको छ । नाटकको विषयवस्तु र प्रस्तुतीले १६ वर्ष मुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरुलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको निर्देशक चे शंकरले जनाए ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कलाकार प्रकाश घिमिरे, निर्देशक चे शंकर, थिएटरका प्रमुम संरक्षक शंकरप्रसाद कोइराला, चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडेल लगायतले बोलेका थिए । शनिबारनै १५ दिने अभिनय कार्यशालामा सहभागी बाबुनानीहरुको नाटक समेत मञ्चन भयो । नाटक पश्चात सहभागी बालबालीकालाई वरष्ठ कलाकार प्रकाश घिमिरेको हातबाट प्रमाणपत्र वितरण समेत गरियो ।

कमेन्टहरु
Loading...