ठूलो परिणामको लागु औषध सहित सात जनालाई पक्राउ

पोखरा ९ जेठ​/कास्की प्रहरीले ठूलो परिणामको लागु औषध सहित सात जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीको लागुऔषध निस्तेज अभियान अन्तर्गत ३ सय ७६ सेट लागुऔषध र नाइट्रोसन सय चक्की सहित दुई महिला र पांच पुरुष गरी सात जनालाई पक्राउ गरी लागुऔषध मुद्धामा म्याद थप गरि अनुसन्धान अगाडी वढाइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा प्रहरी निरीक्षक सागर पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखराको पृथ्वीचोक स्थित होटलबाट लागुऔषध बु्रफिनर्फिन, डाइजापाम र फेनरागन सहितको ३ सय ७६ सेट र सय चक्की नाइट्रोसन चक्की सहित रुपन्देही रोहीणी गाउपालिका धगधगी बस्ने रामवृक्ष कोहार, उनको श्रीमती तेतरी कोहार र उनको बुहारी सोनम कोहर र पोखरा महानगरपालिका १ का अनिल गुरुङ, पोखरा २८ का शुक्रराज सुनार, पोखरा १३ का विक्रम गुरुङ र पोखरा ३२ का अजय गुरुङलाई पक्राउ गरेको हो ।

कोहार परिवारले शरिरका विभिन्न भागमा लुकाइछिपाइ ल्याइ पोखरामा रहेका ४ जना युवाहरुलाई लागुऔषध विक्री वितरण गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको र यसमा अन्य केही युवाहरुको समेत संलग्नता रहेको र उनीहरुको समेत खोजीकार्य जारी राखेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

पक्राउ परेका पोखराका युवाहरु ड्रग्स डिलर रहेको र उनीहरुले वोर्डरमा रही डिलरको काम गर्नेहरुलाई आइएमइ मार्फत पैसा पठाउने गरेको र पैसा पाएपछि डिलरहरुले विभिन्न माध्यामबाट पोखरामा लागुऔषध भित्रयाउने गरेको अनुसन्धानबाट खुल्न आएको समेत प्रवक्ता गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...