कास्की २ उपनिर्वाचनः को को छन् सम्भावित उम्मेदवार ?

पोखरा, ३ कार्तिक / फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि कास्की क्षेत्र नम्बर २ जनप्रतिनिधि विहिन छ । मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । राजनीतिक दलहरु उम्मेदवार टुंग्याउन आन्तरिक छलफलमा छन् ।
तत्कालीन नेकपाको साझा उम्मेदवार अधिकारीको ठाउँमा बरिष्ठ नेता बामदेव गौतम चुनाव लड्ने चर्चा केही समयअघि चलेको थियो । सचिवालय सदस्य समेत रहेका गौतमले चुनाव नलड्ने घोषणा गरेपछि अरु उम्मेदवारको चर्चा चुलिएको हो । यद्यपी बामदेवलाई नै उम्मेदवार बन्न नेताहरुले पनि दवाव दिएका श्रोतले बतायो । ‘नेताहरुको इन्टरेष्ट छ उहाँ उम्मेदवार बन्नुहोस् भन्ने । तर बामदेव कमरेडले नै सार्वजनिक रुपमा नउठ्ने बक्तब्य दिनुभएको छ,’ श्रोत भन्छ, ‘यो अवस्थामा जित्ने ज्ञारेण्टी हेरेर मात्रै आउने अवस्था रहला । तर सर्व स्विकार्य हुने अवस्था चाहीँ छैन ।’
रवीन्द्रपत्नी विद्या भट्टराई सहित, सोमनाथ अधिकारी प्यासी, श्रीनाथ बराल, राजकाजी गुरुङले बढी दावी गरेका छन् । यद्यपी तुलबहादुर गुरुङ, धनराज आचार्य, भीम कार्की लगायतको नाम चर्चामा छ । ‘छिटो टुंग्याउने कुरा हो । छलफल भैरहेको छ । तर निर्णय भएको छैन,’ नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘सकेसम्म सर्बसम्मत निर्णय गर्ने प्र्रयास भैरहेको छ ।’ नेकपाले चुनाव केन्द्रीत कार्यक्रम भने गरिरहेको छ ।

‘३ जनाको नाम मात्रै मागेको छ । विवाद नहुने गरी आकांक्षी सबैको नाम पठाएर केन्द्रबाटै निर्णय गर्ने अवस्था पनि रहन सक्छ,’ एक नेताले भने, ‘चुनाव केन्द्रीत कार्यक्रम चाहीँ भैरहेका छन् । तर उम्मेदवार को भन्ने मानसिकता बनेको छैन ।’

काँग्रेसले अघिल्लो चुनावकै प्रतिश्पर्धी देवराज चालिसेलाई सिफारिस गर्ने तयारी गरेको छ । आइतबार बसेको क्षेत्रीय समितिको बैठकले चालिसेलाई बहुमतका आधारमा एकल उम्मेदवार घोषणा गरेको हो । ३९ सदस्य मध्ये ३१ भन्दा बढी चालिसेको पक्षमा छन् । उम्मेदवारका अन्य आकांक्षीहरु चाहीँ सबै नाम केन्द्रमा पठाउनुपर्ने अडानमा छन् । गएको असोज १४ गते १६ जनाले उम्मेदवारमा आकांक्षा देखाएका थिए ।

तिमध्ये ५ जना निर्वाचन हुने क्षेत्रभन्दा बाहिरका छन् । पार्टी केन्द्रीय समितिले बढिमा ३ जनाको मात्रै नाम सिफारिस गर्न निर्देशन दिएपछि बहुमतको आधारमा निर्णय गरिएको क्षेत्र नम्बर २ (क) का सभापति विजयराज आचार्यले जानकारी दिए ।

‘धेरै नाम पठाउँदा केन्द्रबाट चलखेल हुन सक्छ । त्यसैले सर्वसम्मत रुपमा एउटै नाम पठाए यो क्षेत्रको लागि राम्रो हो,’ उनले भने, ‘केन्द्रको निर्देशन पनि बढीमा ३ जना मात्रै सिफारिस गर्नुपर्ने छ । त्यसैले बैठकका बहुमत सदस्यले चालिसेको नाम प्रश्ताव गरेका हुन् ।’ क्षेत्र नम्बर २ का सभापति माधव बास्तोलाले पनि दुवै पक्षका निवेदन सहितको सिफारिस जिल्ला कार्यसमितिमा पठाउने निर्णय भएको बताए ।

‘बहुमत र अल्पमत भन्दा पनि वहाँलाई नै बनाउनुपर्छ भनेर फ्लोरबाट कुरा आएको छ । केही साथीहरु सबै नामावली पठाउनुपर्छ भन्ने पक्षमा पनि हुनुहुन्छ,’ उनले भने, ‘दुवैको कुरालाई निर्णय गरेर माथिल्लो निकायमा पठाउँछौं ।’

उम्मेदवार सिफारिस गर्नका लागि हालसम्म समितिले ५ पटकसम्म बैठक बसेको छ । तर कसलाई सिफारिस गर्ने भन्नेमा एकमत नभएका कारण अन्यौलता अझैपनि कायम देखिन्छ । कास्की २ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्तिक २१ गते मनोनयपत्र बुझाउने मिति तोकेको छ । जसका लागि तिहार लगत्तै प्रकृया सुरु गर्नुपर्ने भएकोले त्यो भन्दा पहिले नै उम्मेदवार टुंग्याउने वा थोरै मात्रै नाम केन्द्रमा सिफारिस गर्ने गरी दलहरु जुटिरहेका छन् ।

चालिसेलाई स्व. अधिकारीले साढे ८ हजारभन्दा बढी मतान्तरले पराजीत गरेका थिए । काँग्रेसबाट पूराना नेताहरु खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्यले पनि आकांक्षा देखाएका छन् । यसबाहेक क्षेत्र नम्बर २ का सभापति माधवप्रसाद बास्तोला, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण विजुक्छे, क्षेत्र नम्बर २ (क) का सभापति बिजय आचार्य, गुरु बराल, केशर निर्दोषी, काँग्रेस कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डे, महिला नेतृ खेमकुमारी बराल, रंगीला आचार्य, विमला भण्डारीले आकांक्षा देखाएका थिए ।

यो क्षेत्रको चुनावका लागि अरु पार्टीले पनि उम्मेदवार घोषणा गर्दैछन् । साझा पार्टीबाट सम्भावित उम्मेदवार रजनी केसीले शुभेच्छुकहरुसँग भोट माग्न थालिसकेकी छन् । उम्मेदवार बन्नकै लागि उनी काँग्रेस छोडेर साझामा प्रवेश गरेकी चर्चा छ । साझाबाट गण्डकी प्रदेश संयोजक महेश भण्डारी, सुशिला केसी लगाएतको नाम पनि अगाडी आएको छ । साझा पार्टीले यो चुनावलाई मिनी जनमत संग्रहको रुपमा लिएको एक नेताले बताए ।

‘सकेसम्म महिला उठाउने कुरा हो । जिल्लाबाट त्यही सल्लाह दिएका छौं,’ ति नेताले भने, ‘समावेशी बनाएर लैजानुपर्छ र यसले राम्रो म्यासेज जान्छ भन्ने हो । तर जिल्लाबाहिरको मान्छे वा केन्द्रीय समितिबाटै पनि उम्मेदवार बन्न सक्ने स्थिति छ । बैठकबाटै टुंगिएला ।’ साझा पार्टीको केन्द्रीय समिति बैठक मंगलबार पोखरामा हुने र त्यही बैठकले उम्मेदवारको टुंगो लगाउने छ । यसका लागि केन्द्रीय संयोजक रवीन्द्र मिश्र पोखरामै आन्तरिक भेटघाटमा ब्यस्त छन् ।

समाजवादी पार्टीबाट पनि उम्मेदवार छनौट लगभग अन्तिम चरणमा पुगेको छ । समाजवादीबाट किरण थापा उम्मेदवार बन्ने सम्भावना अत्यधिक छ । उनी यसअघि पनि यही क्षेत्रको प्रदेशसभा (क) मा उम्मेदवार बनेका थिए । यद्यपी धर्म गुरुङ र रामबहादुर नेपालीको नाम पनि सिफारिस भएको छ । यो क्षेत्रमा अघिल्लो चुनावमा १३ जना उम्मेदवार सहभागी थिए । उपनिर्वाचनमा ७१ हजार ८ सय ७१ जनाले मतदान गर्दैछन् । यसका लागि ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ ।

कमेन्टहरु
Loading...