पोखरामा बिषालु च्याउले एकै परिवारका ३ को मृत्यु, एक गम्भीर

पोखरा २४ चैत्र /बिषालु जंगली च्याउले पोखरा लामाचौरका एकै परिवारका तीन जनाको ज्यान लिएको छ । बिषालु च्याउले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ लामाचौरमा तीन जनाको ज्यान लिएको हो ।

नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका मध्ये उपचारका क्रममा दुईको बुधबार र एक बिहीबार ज्यान गएको हो । बिषालु च्याउ खाएर गम्भिर बिरामी परेकी ६० बर्षिय माइली तामाङ, १९ बर्षीय मनमाया तामाङको बुधबार ज्यान गएको हो भने माइलीका नाती ८ वर्षका सोनम मगरको बिहीबार ज्यान गएको हो ।

उपचारका क्रममा माइलीको मनिपाल शिक्षण अस्पतालमा, मनमायाको गण्डकी मेडिकल कलेजमा र सोनमको चरक मेमोरियल अस्पतालमा ज्यान गएको हो । माइलीका मनमाया छोरी हुन् भने सोनम जेठी छोरीका छोरा भएको डिएसपी खडग बहादुर खत्रीले जानकारी दिए ।

बिरामी परेका मृतक सोनमका दाइ १२ बर्षीय आयुष मगरको कान्तिबाल अस्पताल काठमाडौमा उपचार भइरहेको उनले बताए । पोखरामा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको थियो । गत चैत १९ गते मनमायाले स्थानीय अकला मन्दिरको दर्शसँगै नजिकैको जंगलबाट ल्याएको च्याउ बेलुकी परिबारका चारै जनाले खाएका थिए । त्यसै दिनदेखि झाडापखाला लागेका उनीहरुले स्थानीय मेडिकलबाट पखालाको औषधि खाएर बसेका थिए । उनीहरु २१ गते मात्रै उपचारका लागि अस्पताल पुगेका थिए ।

कमेन्टहरु
Loading...