अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिईन्छ​: सञ्चार मन्त्री बास्कोटा

चितवन, ३१ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकामा आतंकवादलाई संरक्षण गर्दै लेखेमा पत्रकारलाई मृत्युदण्ड समेत दीने गरेको बताएका छन । मंगलबार नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको उद्घाटन गर्दै बास्कोटाले आतंकवादलाई संरक्षण गर्दै लेखेमा पत्रकारलाई अमेरिकामा एक करोडसम्मको जरिवाना र मृत्युदण्ड समेत दीने गरेको बताएका हुन ।

प्रेसका नाममा छाडातन्त्र गर्ने काम स्वतन्त्रताको मूल्य र मानक नभएको उनको भनाई छ । स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम भने सरकारबाट नहुने सञ्चारमन्त्री बास्कोटाले बताए । सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलन समेत हेरिएको बताए ।अरु नै कुरा मनमा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसकिने बताउँदै मन्त्री बाँस्कोटाले बहिष्कारको अर्थ नभएको जिकिर समेत गरेका छन ।

समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उनले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताए ।संविधान भन्दा बाहिर कुनै पनि कानून नबन्ने बताउँदै उनले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताए । सरकारले अहिले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेको भन्दै उनले यसले साना मिडियालाई सहयोग पुग्ने पनि बताएका छन ।

कमेन्टहरु
Loading...