गजल पुरस्कार कपिललाई, सम्मान रविलाई

गजल पुरस्कार कपिललाई, सम्मान रविलाई
गजल पुरस्कार कपिललाई, सम्मान रविलाई

पोखरा, १२ भदौ /गजल प्रतिभा पुरस्कारबाट गजलकार कपिल शर्मा र गजल प्रतिभा सम्मानबाट रवि प्राञ्जललाई प्रदान गरिएको छ । गजल सन्ध्या, पोखराले हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष शनिबार एक कार्यक्रमबीच गजलकार शर्मा र सम्मान प्राञ्जललाई प्रदान गर्न गरिएको हो ।

कवि रवि प्राञ्जल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ र सन्ध्याका कार्यवाहक अध्यक्ष अमृत सुवेदीले दोसल्ला, सम्मान पत्र र नगदसहित गजलकार शर्मालाई पुरस्कृत गरे । यसैगरी, कवि श्रेष्ठ, प्रतिभा छनौट समितिका संयोजक दीपक समीप र कावा अध्यक्ष सुवेदीले दोसल्ला र सम्मानपत्रसहित कवि प्राञ्जललाई सम्मानित गरेका हुन् ।

नेपाली साहित्यमा लोकप्रिय विधा गजलको छुट्टै महत्व र स्वाद रहेको सम्मानित कवि प्राञ्जलले बताए । ‘नेपाली गजलमाथि धेरैले धेरै तरिकाबाट विश्लेषण गर्छन्, त्यो सबैलाई छुट छ,’ प्राञ्जलले भने, ‘गजलमा रहेका केही बहशका विषय छन् तर यो साहित्यमै शक्तिशाली विधा हो । जुन लामा कथा, कविता, उपन्यासमा व्यक्त हुने विषय एक शेरमै व्यक्त हुन सक्छन् ।’ गजल विधाको विकास र प्रवद्र्धनमा क्रियाशील ओजिलो संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको प्राञ्जलले बताए ।

अर्का पुरस्कृत व्यक्तित्व शर्माले गजलको विधागत विकासमा लागेको संस्था र आफूले पनि गजल जान्ने, सिक्ने र नेतृत्व गर्ने अवसर पाएको संस्थाबाट पुरस्कृत हुन पाउनु गर्वको विषय भएको बताए । उनले पुरस्कारले थप जिम्मेवार र सिर्जनशील हुन हौसला प्रदान गरेको बताए । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आफू पनि विगतमा गजल लेख्ने गरेको र अहिले पनि गजल प्रेमी भएको बताए ।

‘सुरुसुरुमा गजलप्रति असाध्यै प्रेम थियो । गजल मन पथ्र्यो, लेखिन्थ्यो,’ उनले भने । गजलमा युवाहरुको बढी आकर्षण बढ्दै गएको बताउँदै श्रेष्ठले निरन्तर गजल विधामै क्रियाशील हुनु र निरन्तर कार्यक्रम गर्दै हुने पुरस्कार तथा सम्मानका कार्यक्रमले सर्जकको मनोबल बढाउने उनको भनाइ थियो । प्रतिभा छनौट समितिका संयोजक दीपक समीपले पश्चिमाञ्चल क्षेत्रमा जन्मेका वा कर्म गर्दै आएका र गजल संग्रह प्रकाशित गरेका व्यक्तिहरुबाट शर्मा पुरस्कारका लागि र देशको कुनै पनि ठाउँमा रहेर नेपाली गजलमा विशेष योगदान पु¥याउने स्रष्टाहरुमध्येबाट कवि प्राञ्जललाई छनौट गरिएको बताए ।

प्राञ्जलको परिचयसमेत प्रस्तुत गर्दै समीपले प्राञ्जल नेपाली साहित्य र गीतसंगीतको क्षेत्रमा विशिष्ट नाम भएको बताए । २०३६ सालदेखिनै साहित्य यात्रा थालेका प्राञ्जलले गजल, कविता र कथामा कलम चलाएर संग्रह प्रकाशित गरेका र ‘सबै बेहोसी नसा पिएर’ जस्ता चर्चित गीत, गजल पनि बजारमा ल्याइसकेको बताए । पुरस्कृत गजलकार शर्माको परिचय दिँदै निर्वतमान अध्यक्ष तथा प्रतिभा छनौट समितिका सदस्य उदीपराज ढुंगानाले कपिलले पश्चिमाञ्चल क्षेत्रलाई कर्मथलो बताएर गजल, मुक्तक, कविता, नाटक र अभिनयमा आफ्नो परिचय बनाउन सफल रहेको बताए ।

तस्बिरमा दोसल्ला गजल संग्रह प्रकाशित गरेका शर्माले अहिले पोखरामा नाटकघर निर्माणको सपना देखेको उनको भनाइ छ । कार्यक्रममा संस्थापक अध्यक्ष दिलीप दोषी, नवनीत साहित्य सागरका अध्यक्ष तथा प्रतिभा छनोट समिति सदस्य लक्ष्मण थापा, यसअघि पुरस्कृत व्यक्ति दनार्दन दाहाल, सरस्वती श्रेष्ठ ‘सरु’, ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल लगायतले शुभकामना दिएका थिए । कावा अध्यक्ष अमृत सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मोहन भण्डारीले गरेका थिए । पुरस्कार तथा सम्मान प्रदान कार्यक्रमसँगै भएको गजल वाचन शृंखलामा झण्डै २ दर्जन गजलकार गजल वाचन गरेका थिए ।

कमेन्टहरु
Loading...