देशलाई विखण्डन गर्न लागेका छन्, जोगाउनु पर्दछ –नेता देउवा

सागर राज तिमिल्सिना
पोखरा, ३० चैत /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडको बीचमा द्वन्द्व पैदा गरेर देशलाई विखण्डन गर्न लागेको बताएका छन् । देशव्यापी चुनावी आमसभामा निस्किएका सभापति देउवाले बुधबार पोखरामा आयोजित नेपाली कांग्रेसको आमसभामा विखण्डबाट बचाउन सबै लाग्नु पर्ने बताए । देउवाले देशलाई कस्ले विखण्डन गर्न लागेको भन्ने बारेमा स्पष्ट खुलाएनन् ।

उनले मधेसीहरुले सीमानाको रक्षा गरेर बसीरहेको दोहोराउदै सीमानाको रक्षा गरेर बसेका जनतालाई अविश्वास गर्न नहुने बताए । एमालेले पहाडे राष्ट्रवादको नाममा मधेसी जनतालाई चिढाउने काम गरिरहेको उनको आरोप थियो । उनले बहुदलिय प्रजातन्त्र खतरामा परेपछि काग्रेसले राजालाई समेत फालेका बताए । नेपाली काग्रेस मात्रै बहुदलिय प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएको बताए । देउवाले नेपाली कांग्रेस बाहेक अन्य कुनैपनि पार्टी प्रजातन्त्रिक नभएको दाबी गरे । उनले स्थानीय निर्वाचनमा पार्टीको तल्लो तहबाटै उमेद्वार छनौट गर्न सुझाब दिए । उनले चुनावमा अन्तरघात गर्ने कडाकार्वाही गर्ने बताए ।

पोखरामा कांग्रेसको जनप्रर्दशन
पोखरामा कांग्रेसको जनप्रर्दशन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु समस्या झिक्न मात्रै जान्ने तर समाधान दिन नसक्ने पार्टी भएको बताए । नेपालमा पनि एमालेले समस्या झिक्न जानेको छ तर समाधान गर्ने काग्रेस नै आउनु पर्ने बताए । गाँउनगरलाई स्वतन्त्रता दिने र जनतालाई पनि स्वतन्त्रता दिने कुरामा मधेसी नेताले आनाकानी गरिरहेको आरोप लगाउँदै पौडेलले सिंहदरबारमा रहेको अधिकारलाई जनताको घरदैलोमा दिनकालागि अब हुन लागेको स्थानिय तहको निर्वाचनलाई बिथोल्न नहुने बताए ।

उनले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा गुट र उपगुट भनेर आपसमा विभाजन हुने बताए । ‘कोही पनि बागी र विद्रोही उम्मेदवार बन्नु हुँदैन,’ उनले भने । यदि कोही बागी र विद्रोही बनेर उमेद्वारी दिन्छ भने उसलाई पार्टीबाट निष्काशन गर्ने बताए ।

नेपाली कांग्रेसका महामन्त्री शसांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला लगाएतले सम्बोधन गरेका थिए । ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ भएको कार्यक्रमा विभिन्न पार्टीबाट काग्रेसमा प्रबेश गरेकाहरुलाई नेता देउवाले स्वागत गरेका थिए । आमसभाअघि पोखराका चोक चोकबाट निस्केको ¥याली चिप्लेढुङ्गामा पुगेको थियो ।

कमेन्टहरु
Loading...