बोर्डिङ स्कुल छोडेर सरकारीमा भरिए विद्यार्थी

प्रकाश ढकाल
पोखरा, ११ बैशाख /आडैमा रहेको बोर्डिङ स्कुल छोडेर भरतपोखरीकी नम्रता काफ्ले दुई बर्षअघि सरकारी स्कुलमा भर्ना भईन् । ८ कक्षासम्म नजिकैको मर्निङ ग्लोरी एकेडेमीमा पढेकी नम्रता अहिले सरस्वति टिका माविमा पढ्छिन् । बाघमारा एकेडेमीमा पढ्ने श्याम आचार्य र गगनगौंडाको हाईवे गार्डेनमा पढ्ने रोशनी गौतम पनि अघिल्लो साता सरस्वति टिका मै भर्ना भए ।

न्यूनतम शुल्कमा बोर्डिङमा झैं अंग्रेजी माध्यमबाट पढाउन पाएपछि भरतपोखरीका अधिकाशं अभिभावकले नीजि स्कुलबाट निकालेर छोराछोरीलाई सरकारीमा पठाउन थालेका छन् । सरस्वति टिकामा मात्रै यो बर्ष नीजि स्कुल छोडेर १ सय २७ जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो बर्ष झण्डै चार सय बिद्यार्थी बोर्डिङ छोडेर आएका थिए । सबैभन्दा बढी ६ कक्षामा २१ जना निजी स्कुलका विद्यार्थी भर्ना भएका छन् । यस्तै एलकेजीमा १४, युकेजीमा १३, १ कक्षामा ११, २ मा ७ जना, ३मा १८ जना, ४ मा १३ जना, ५ मा ११ जना, ७ मा १९ जना, ८ मा १४ जना र ९ मा १० जना विद्यार्थी निजी विद्यालयबाट भित्रिएका विद्यालय प्रशासनले जनाएको छ ।

अंग्रेजी माध्यमबाट पढाउन थालेपछि सरकारी स्कुलमा आकर्षण बढेको अभिभावकहरु बताउँछन् । ‘सरकारी स्कुलमा पहिले खासै राम्रो पढाई हुन्थेन । छिमेकीका छोराछोरी बोर्डिङ जान थालेपछि हाम्रा पनि कनकन गर्न थाले, अभिभावक गीता गौतम भन्छिन्–अहिले बोर्डिङ भन्दा राम्रो पढाई सरकारीमा हुन्छ । पैसा धेरै तिर्दैमा राम्रो पढाई नहुने रहेछ ।’ सरस्वति टिका माविमा अंग्रेजी र नेपाली माध्यमको छुट्टाछुट्टै पढाई हुन्छ । नेपाली माध्यममा पढ्नेले शुल्क तिर्नुपर्दैन भने अंग्रेजी माध्यमबाट पढ्नेले तह अनुसारको शुल्क तिर्छन् ।

बोर्डिङ स्कुल छोडेर सरकारीमा भरिए विद्यार्थी
बोर्डिङ स्कुल छोडेर सरकारीमा भरिए विद्यार्थी

अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीले तह अनुसार २ सय ५० देखि ११ सय रुपैयाँ सम्म तिर्नुपर्छ । ‘आर्थिक अवस्था कमजोर भएकाले मात्रै छोराछोरी सरकारीमा पठाउथे । खान लाउन पुग्नेहरुले बोर्डिङ नै रोज्थे, अर्की अभिभावक सृजना पौडेलले भनिन्–अंग्रेजी पढ्ने लहर थियो, त्यसैले भेष बसाउन बोर्डिङ पठाएका हौं ।’ सरकारीमा पनि अंग्रेजी माध्यममा पढाउन पाएपछि मन जागेको पौडेल सुनाउँछिन् । खासगरि माथिल्लो कक्षामा निजी विद्यालय छाडेर सरकारीमा भर्ना हुने दर बढी छ । बोर्डिङबाट एसएलसी पास गरेको भन्दा सरकारीको प्रमाणपत्रले बढी अवसर पाउने अभिभावकहरुको बुझाई छ ।

निजी स्कुलहरु सरकारीको तुलनामा निकै महंगो हुन्छन् । तैपनि अंग्रेजी शिक्षा प्रतिको आकर्षणले अभिभावकहरुलाई निजीमै पढाउने बाध्यता हुन्छ । ‘अंग्रेजीमा पढाई हुने सरकारी स्कुलमा बिद्यार्थीको चाप निकै बढी छ । हामीले पनि धेरै विद्यार्थी भएपछि प्रबेश परीक्षा लिएर मात्रै भर्ना गरेका हौं, सरस्वति टिका माविका प्रधानध्यापक लाल प्रसाद भण्डारीले भने–विद्यार्थीको आकर्षण बढेपछि चाहेर पनि सबै विद्यार्थी भर्ना गर्न सकेका छैनौं ।’ ब्यवस्थापकीय पक्ष मात्रै सुधार गर्न सके पनि विद्यालयको गुणस्तर बढ्ने उनले बताए ।

विद्यार्थी चापका कारण विद्यालयले थप भौतिक संरचना समेत निर्माण गरिरहेको छ । भारत सरकारको सहयोगमा हाल १२ कोठे पक्की भवन निर्माणको चरणमा छ । यस्तै न्यू साडल नामक गैर सरकारी संस्थाले पनि ६० लाखको लागतमा ४ कोठे भवन निर्माणमा सघाएको भण्डारीले जानकारी दिए । विद्यालयमा हाल ९ सय ६६ जना विद्यार्थी पढ्छन् । त्यसमध्ये ५ सय ४७ जना अंग्रेजी माध्यमका छन् । ‘बोर्डिङ स्कुल खुलेपछि बिद्यार्थी संख्या पनि घटदै गयो । बिद्यालयमा बिद्यार्थी सकिएर मर्ज गर्ने अवस्थासम्म पुगेको थियो, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले भने–पछि स्कुल स्टाफका छोराछोरीलाई आफ्नै स्कुलमा पढाउनुपर्ने अनिवार्य नियम बनायौं ।

अनि राम्रो नतिजा निकालेपछि विस्तारै विद्यार्थी बढ्दै गए ।’ निजीबाट भर्ना भएका विद्यार्थीहरु पनि सन्तुष्ट छन् । ‘सुरुमा आउँदा अप्ठेरो लाग्थ्यो । अंग्रेजी भनेपनि विश्वास लागेको थिएन, १० कक्षामा अध्ययनरत नम्रता काफ्ले भन्छिन्–मैले पढेको बोर्डिङ भन्दा राम्रो फ्यासिलिटी यहाँ छ । बोर्डिङ र सरकारी स्कुलमा कुनै फरक देखिनँ ।’ विद्यार्थी संख्या कम भएकै कारण कास्कीका झण्डै ४० वटा सरकारी विद्यालय मर्ज भैसकेका छन् । विद्यालयको उपलब्धीको स्तर अनुसार जिल्ला शिक्षा कार्यालयले अनुदान ब्यवस्था गर्छ ।

पछिल्लो समय सरकारी स्कुलको शैक्षिक गुणस्तर बढेपछि निजीबाट विद्यार्थी फर्कने क्रम बढेको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल बताउँछन् । सरकारीमा विद्यार्थी फर्किनु खुशीको बिषय भन्दै उनले फर्किएका विद्यार्थी टिकाउने गरी ठोस योजना बनाउन पनि विद्यालयहरुलाई सुझाएका छन् । उनले विद्यार्थीको चापलाई मुल्याकंन गरेर पूर्वाधार निर्माणमा सघाउने प्रतिबद्धता जनाए ।

कमेन्टहरु
Loading...