पोखरा, चितवन र लुम्बिनी जोड्न सिल्भर ट्रयाङ्गलको प्रस्ताव

चितवन, १९ चैत /पोखरा, चितवन र लुम्बिनीलाई पर्यटकीय रुपमा जोड्दै आपसी लाभका लागि तीनै क्षेत्रका व्यवसायी सहकार्य गरेर अगाडि बढ्न जरुरी भएको हालै चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

जाउँ है पोखरा अभियान लिएर काठमाडौं, जनकपुर हुँदै चितवन आइपुगेको पश्चिमाञ्चल होटल संघ पोखराको टोलीले आयोजना गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीले पोखरा, चितवन र लुम्बिनी जोड्ने सिल्भर ट्रयाङ्गलको चीरचर्चित अवधारणालाई मुर्त रुप दिनुको विकल्प नभएको बताए ।

प्राकृतिक रुपमा धनी पोखरा, सफारीका लागि प्रख्यात चितवनको सौराह र धार्मिक रुपमा प्रख्यात लुम्बिनी क्षेत्रका व्यवसायी विच पर्यटक आदानप्रदान तथा प्रबद्र्धनका काम संयुक्त रुपमा अगाडि बढाउन सकिने भनाई व्यवसायीले कार्यक्रममा राखेका थिए ।

सो अवसरमा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटनमा लाभको वितरण र सहकार्य धेरै महत्वपूर्ण पक्षहरु भएको बताउँदै गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन बर्ष २०१९ कार्यक्रमलाई सफल पार्न समेत सिल्भर ट्रयाङ्गलको अवधारणा सहयोगी हुन सक्ने भनाई राखे ।

पोखराको फेवा ताल किनारमा चैत २९ देखि आगामी बैशाख २ गते सम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि समेत उनले चितवनबासीलाई आग्रह गरे ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले तीन शहर जोड्ने प्रस्ताव निकै सकारात्मक भएको भन्दै सिमाका ३० करोड मध्ये एक प्रतिशत भारतीय पर्यटक नेपाल भित्र्याउन सक्ने हो भने यसले नेपालको पर्यटनमा ठूलो परिवर्तन ल्याउने भनाई राखे ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले पर्यटन क्षेत्र विश्व भरिनै बढी लगानी भएको क्षेत्र भएको स्मरण गराउँदै यसले अर्थतन्त्रमा ठूलो योगदान दिने गरेको भनाई राखे । आम्दानी अनुसार कर तिरेर व्यवसायीले राष्ट्र निर्माणमा समेत योगदान दिनुपर्ने उनले बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले पोखरामा संचालित सहासिक प्याराग्लाइडिङलाई व्यवस्थित र सुरक्षित बनाउन पहल भइरहेको जानकारी गराउँदै नेपाल हवाई खेलकूद संस्थालाई हालै यसको जिम्मा प्रदान गरिएको स्मरण गराए । विभिन्न प्रबद्र्धनका काम र अभियानमा बोर्डले व्यवसायीहरुसँग सहकार्य गरेर अगाडि बढिरहेको जानकारी पनि लामिछानेले सो अवसरमा गराए ।

चितवन पर्यटन विकास समितिका अध्यक्ष बद्रि अधिकारीले जाउँ है पोखरा जस्तै आन्तरिक पर्यटन प्रबद्र्धनको अभियानलाई देशव्यापी बनाउनुपर्ने सुझाव राखे । क्षेत्रीय होटल संघ चितनवका अध्यक्ष सुमन घिमिरेले सौराह क्षेत्रले पर्यटनको ठूलो संभावना बोकेको स्मरण गराउँदै उक्त क्षेत्रमा सफारी बाहेकका नयाँ पर्यटकीय स्वाद सिर्जना गर्ने तर्फ पनि आफूहरुले विचार गरिरहेको भनाई राखे ।

पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरालाई आफूहरुले उत्सव र महोत्सवको शहरको रुपमा विकास गर्न लागेको जानकारी गराउँदै विनासकारी भुकम्प जाँदा पनि पोखराको पर्यटन आन्तरिक पर्यटकले नै धानेको इतिहास स्मरण गराए ।

सिल्भर ट्रयाङ्गलको अवधारणालाई व्यवहारमा उतार्न जरुरी भएको भन्दै उनले नेपालीमा घुम्ने बानीको विकास गराउने अभियानमा अहिले आफूहरु रहेको उनले सुनाए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले व्यवसायीका सबै सकारात्मक अभियानमा संघको सहयोग रहने प्रतिबद्धता जनाए ।

होटल संघ नेपाल र गण्डकी प्रदेश सरकारले जाउँ है पोखरा अभियानलाई सघाईरहेका छन् । अभियानको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ । चितवनमा आयोजित कार्यक्रमको संचालन पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले गरेका थिए ।

कमेन्टहरु
Loading...