जाउँ है पोखरा अभियान काठमाडौंबाट सुरु

काठमाडौं, १७ चैत / सत्र बर्ष अघि सुरु गरिएको जाउँ है पोखरा अभियानलाई यसपटक राजधानी काठमाडौंबाट पुनः निरन्तरता प्रदान गरिएको छ । नेपालका मुख्य चार शहरहरु– काठमाडौं, जनकपुर, चितवन र लुम्बिनीलाई केन्द्रित गरी पश्चिमाञ्चल होटल संघ पोखराले अभियानलाई निरन्तरता दिएको हो ।
चैत १६ देखि २० गते सम्म संचालन हुने अभियान अन्तर्गत संघले काठमाडौंमा शनिबार होटल संघ नेपालसँग मिलेर एक पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेको हो । सो अवसरमा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले सरकार–माओवादी द्वन्दको कठिन अवस्थामा संघले जाउँ है पोखरा अभियान संचालन गरेको जानकारी गराए ।
अभियानले अहिले देश भरि नै आन्तरिक पर्यटन प्रबद्र्धनमा एउटा जागरण सिर्जना गरेको उनले बताए । सो अवसरमा उनले पोखरामा यही चैत २९ गते देखि आगामी बैशाख १ गते सम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि समेत काठमाडौंवासीसँग आग्रह गरे ।
कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य विप्लव पौडेलले संघले जाउँ है पोखरा अभियानपछि भारतीय बजारका लागि चलिए पोखरा अभियान संचालन गरेको स्मरण गराउँदै निकट भविश्यमा बंगलादेशमा समेत यस्तो अभियान संचालन गरिने जानकारी दिए । बढी भन्दा बढी पर्यटकलाई नेपालमा आकर्षिक गर्न सडक र हवाई सेवा जस्ता पक्षलाई सरकारले बढी ध्यान दिनुपर्ने सुझाव उनले सो अवसरमा राखे ।
होटल संघ नेपालकी उपाध्यक्ष सिर्जना राणाले पर्यटन प्रबद्र्धनका लागि निजी क्षेत्रले सरकारको मात्र भर नपरी आफूले पनि केही गर्नुपर्छ भन्ने मान्यता अनुरुप आफूहरु अगाडि बढिरहेको बताइन् । पर्यटनमा पछिल्लो क्रममा युवाहरुमा समेत घुम्ने बानी बढेको भन्दै उनले समग्र पर्यटनले नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको भनाई राखिन् ।
पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार एवं बोर्डका पूर्व सदस्य विश्वशंकर पालिखेले द्वन्द्वले सिंगो नेपाल प्रभावित हुँदै गर्दा पर्यटनका लागि केही गर्नुपर्छ भन्ने मान्यता अनुरुप जाउँ है पोखरा अभियान सुरु गरिएको जानकारी गराए । यो अभियान सिंगो नेपालको आन्तरिक पर्यटन प्रबद्र्धनमा नमुना कार्यक्रम भएको बताउँदै पालिखेले यसलाई थप तिव्रता प्रदान गर्न सरकारले आफ्ना कर्मचारीलाई पैसा दिएर घुम्न जाउ भन्ने खालको पेड होलिडे जस्ता कार्यक्रम सुरुवात गर्न जरुरी भएको सुझाव राखे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछानेले आन्तरिक पर्यटन प्रबद्र्धनमा पोखराले नमुना काम गरेको भन्दै जाउँ है पोखरा जस्तो अभियान नेपालका अरु शहर र गाउँहरुले पनि सुरु गर्न सके राम्रो हुने भनाई राखे । पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सामान्य किसानदेखि ठूला व्यवसायीलाई समेत लाभ पुग्ने गरेको बताउँदै गण्डकी प्रदेश सरकारले घोषणा गरेको जारी आन्तरिक पर्यटन बर्ष २०१९ मा पर्यटनका विभिन्न सेवामा व्यवसायीले १५ प्रतिशत छुट प्रदान गर्ने प्रतिबद्धता सुनाए ।
काठमाडौंमा आयोजित कार्यक्रममा फेवा नव बर्ष महोत्सवका प्याकेजहरु समेत सार्बजनिक गरिएको थियो । ती प्याकेजमा घुमघाम, मधुमास र शैक्षिक भ्रमण रहेका छन् । कार्यक्रमका अवसरमा गन्तव्य पोखराको ब्रोसर समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
कमेन्टहरु
Loading...