हस्पिटालिटी नेपाल कन्टेस्टको पोखरा अडिसन मंगलबार हुने

पोखरा, १३ माघ/तेस्रो सँस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरा अडिसन मंगलबार हुने भएको छ । लेकसाइडस्थित होटल माउन्टेन टपमा रहेको अल्टिच्यूड रेस्टुरेन्टमा विहान १० बजेदेखि शुरु हुने अडिसन दिउँसो ४ बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

यसअघि आयोजक कम्पनीले काठमाण्डौ, चितवन र बुटवलमा कलेज क्याम्पेनसँगै अडिसन पनि गरेर फर्किसकेको छ । ‘पोखरालाई केन्द्र बनाएर हामीले यो कार्यक्रम गरिरहेका छौँ । त्यसैले यहाँको अडिसन अन्य शहरको तुलनामा भव्य हुनेछ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘पोखरासँगै आसपासका अन्य जिल्लाका सहभागीहरु पनि अडिसनमा सहभागी हुँदैछन् ।’

देशव्यापी आवेदन आह्वान गरेको यो कार्यक्रममा अडिसनमार्फत छनौट भएका प्रतिस्पर्धीहरुलाई एक महिने बन्द प्रशिक्षणमा राखिने आयोजक संस्थाका निर्देशक उज्जवल बस्नेतले बताए । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ ।

विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट २५ जना प्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहभागीलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित हुनेछ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजकको तर्फबाट पाउने बताईएको छ ।

यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै आयोजकले प्रतियोगीहरुलाई पर्यटनसम्बन्धि थप जानकारी दिनका लागि पर्यटकीय गन्तब्यहरुको भ्रमण पनि गराउने बताएको छ ।

यो इभेन्टको मूख्य प्रायोजकको रुपमा लाली चाउचाउले कम्पनीसँग सहकार्य गरिसकेको छ । यस्तै इभेन्टमा हस्पिटालिटी पार्टनरमा होटल माउन्टेन टप, रेस्टुरेन्ट पार्टनरमा ब्यञ्जन रेस्टुरेन्ट, होटल पार्टनरमा होटल ड्यान्डिलियन र इन एशोसियसन टाइटलमा होटल क्राउन प्लाजाले सहकार्य गरेका छन् ।

कमेन्टहरु
Loading...