एम्बुलेन्स खरिदका लागि सहयोग जुट्दै

तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी छ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो ।

अभियानका कारण विभिन्न संघसंस्था र व्यक्तिबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग जुट्न थालेको हो । सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि दुग्ध उत्पादक सहकारी संस्थाबाट ५१ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संस्थाको हालै बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको सहकारीका व्यवस्थापक दयाराम शर्माले बताएका छन् ।

रेडक्रसले अगाडि सारेको मानवीय अभियानलाई अपनत्व प्रदान गर्दै संस्थाले सो निर्णय गरेको अध्यक्ष तुलसीराम सुवेदीले बताए । त्यसैगरी सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि ब्यास–१० दुम्सीकोटका अञ्जु गिरी क्षेत्रीले ५० हजार १ सय १५ सहयोग गरेको बताइएको छ ।

उपशाखाका सभापति स्व शंकर गिरीका छोरा रमेश गिरीले १० हजार अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेललाई हस्तान्तरण गरेका छन् । त्यसैगरी अभियानलाई व्यासनगरपालिका–१० दुम्सीचौर बस्ने पूर्णबहादुर दरैले आफ्ना बुबा मानबहादुर दरै तथा आमा शान्ति माया दरैको स्मृतिमा ११ हजार १ सय ११ प्रदान गरेका छन् ।

सो अभियानलाई व्यासनगरपालिका–१० दुम्सीस्थित शिवालय आमा समूहले ११ हजार १ सय ११ प्रदान गरेको छ । उक्त सहयोग रकम आमा समूहकी अध्यक्ष उषा थापाले उपशाखाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको संस्थाका उपसभापति विष्णुप्रसाद अधिकारीले बताए । त्यसैगरी उक्त उपशाखा सचिव एवं युवा रेडक्रस सर्कल चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले ५ हजार ५ सय, व्यासनगरपालिका–१० डिहीगाउँ निवासी नेत्रबहादुरले ५ हजार ५ सय ५५ सहयोग गरेका छन् ।

त्यस्तै व्यास–१० खहरे निवासी प्रसिद्ध लोकदोहोरी गायक रमाकान्त ढुंगानाबाट ५ हजार ५ सय ५५, ब्यास–१० डिहीकुना निवासी टीकाराम अधिकारीबाट ५ हजार ५ सय ५५ सहयोग गरेको अर्थ संकलन समितिका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिएका छन् ।

सोही अभियानलाई सहयोग गर्दै आएका जापानमा कार्यरत नेपालीबाट सहयोग आउने क्रम निरन्तर जारी छ । हालसम्म जापानमा कार्यरत रमेश कडेलबाट ५ हजार, वासु पन्थबाट ८ हजार, खगेन्द्रप्रसाद सापकोटाबाट १० हजार, प्रकाश धितालबाट १० हजार, गोपाल खरेलबाट ५ हजार, धार्मिका घिमिरेबाट ५ हजार ५ सय ५५, जापनिज ऐन सहयोग जापानमा कार्यरत रोशन सापकोटामार्फत प्राप्त भएको कुरा उपशाखाका सचिव यामप्रसाद सापकोटाले बताएका छन् ।

विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग रकम प्राप्त हुनेक्रम जारी रहेको उपशाखा सभापति रामदत्त पौडेलले बताएका छन् । गत भदौ १९ गतेदेखि एम्बुलेन्स खरिदका लागि अभियान थालेको हो । रासस

कमेन्टहरु
Loading...