पोखरामा भएको पर्यटक दौडमा फ्रान्सका जेमी प्रथम

पोखरा, ३१ चैत / पश्चिमाञ्चल होटल संघ पोखराले कोमागाने पार्कमा आयोजना गरेको चौधौं फेवा नव वर्ष महोत्सव २०७४ अन्तर्गत तेश्रो दिन बिहीबार भएको पर्यटक दौड प्रतियोगितामा हालसम्मकै सबैभन्दा धेरै दुई सय ६० जनाले सहभागिता जनाएका छन् । रन फर फन नाम दिएर आयोजना गरिएको प्रतियोगितामा फ्रान्सका भान जेमी प्रथम भए । यसैगरी अमेरिकाका बेकर द्वितीय र नेदरल्याण्डका जुरियन तृतीय भएका छन् । त्यस्तै महिला तर्फको प्रतिस्पर्धामा अमेरिकाकी एलिसन प्रथम, अमेरिकाकै एस्ले द्वितीय र अष्ट्रेलियाकी जेन तृतीय भए ।

विजेता मध्ये प्रथमले पोखरा काठमाडौं उडान टिकट उपहार पाए । आधा घण्टाको प्याराग्लाइडिङ उडानको टिकट दोश्रो पुरस्कार स्वरुप प्रदान गरियो भने तृतीयका लागि पोखरा काठमाडौं यात्राको डिलक्स बस टिकट दिइयो । महिला पुरुष सबै विजेताले मायाको चिनो र विजी वी क्याफे लेकसाइडमा ककटेल डिनरको अवसर पनि प्रदान गरिएको छ ।

संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचन, निवर्तमान अध्यक्ष भरतराज पराजुली, हानका केन्द्र्रिय सदस्य एवं संघका सल्लाहकार विप्लव पौडेल तथा संघका सल्लाहकार गोविन्दराज पहारीले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । रसियाका एक जना अशक्त निकोले कोजेन्भिन्कोवले पनि बैशाखीको सहारामा दौड पूरा गरे ।

पर्यटक दौडमा यति धेरै पर्यटक सहभागी हुनु पोखराको पर्यटन विकास र प्रवद्र्धनका लागि सकारात्मक पक्ष भएको महोत्सवको पर्यटक दौड उपसमितिका संयोजकद्वय ज्याक तामाङ र केशवराज पहारीले बताए । महिला तथा पुरुष धेरै भन्दा धेरै सहभागी हुनुले महोत्सवको आकर्षण समेत बढ्न गएको संयोजक पहारीले बताए । आफ्नो एकल पहलमै धेरै भन्दा धेरै पर्यटकलाई दौड बारे जानकारी गराएर उपस्थित गराएको उनको भनाई थियो । अर्का संयोजक तामाङले दौडप्रति देशविदेशमा प्रचारप्रशार समेत बढेका कारण पर्यटक हरु फर्कीफर्की पोखरा आउने क्रम समेत सुरु भएको बताए ।

सहभागीहरु खहरेचोक नजिक होटल प्सि प्लाजा अगाडि बाट तीन किलोमिटर दक्षिणको फिस्टेल गेट सम्म दौडिएका थिए । सहभागी सबैलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो । सो अवसरमा पंचै बाजाको तालमा पर्यटकहरु नाचेर रमाएका पनि थिए । विजी वी क्याफेले सहभागीलाई निशुल्क टिसर्ट प्रदान गरेको थियो । आगामी वैशाख २ गते सम्म संचालन हुने महोत्सवलाई नेपाल पर्यटन वोर्डले प्रवद्र्धन गरेको छ भने गोर्खा ब्रुअरीले प्रायोजना गरेको छ ।

कमेन्टहरु
Loading...