नेपाल खेलकुद महासङ्घ (नेकोस) गण्डकीको अधिवेशन जेठ ३० र ३१ मा हुने

 

नेपाल खेलकुद महासङ्घ (नेकोस)गण्डकी प्रदेशको दोश्रो अधिवेशन पोखरामा हुने भएको छ । नेकपा एमालेको जन सङ्गठनको रुपमा रहेको महासङ्घले यही जेठ ३० र ३१ गते अधिवेशन गर्न लागेको बिहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिइएको हो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा खेल सङ्घबाट ३५, अधिवेशन नभएका जिल्लाका ३०, अधिवेशन भएका जिल्लाका ४७, मनोनित १४ र आयोजक २५ जना गरेर कुल १ सय ५१ जना प्रतिनिधि सहभागी बन्ने महासङ्घका सचिव ईश्वर अधिकारीले बताए । अधिवेशनबाट अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, दुई उपसचिव र कोषाध्यक्ष सहित विधान अनुसार सदस्य चयन हुनेछन् ।

खेलकुद महासंघको अधिवेशनमा एक पालिका एक खेल रचनात्मक कार्य, एक जिल्ला एक खेल कार्यक्रम गर्ने, एमालेको मिसन ८४ लक्षित कार्य गर्दै नेकपा एमालेको सबै कमिटीबाट जारी हुने प्रतिबद्धता पत्रमा सम्बन्धित पालिकामा अनिवार्य रुपमा खेलकुद ऐन निर्माण गरी खेलकुद विकास समिति गठन गर्न र कुल बजेटको न्यूनतम पाँच प्रतिशत रकम खेलाडी र खेल क्षेत्रको विकासका लागि विनियोजन गर्न पहल गर्ने कार्य बारे छलफल हुनेछ । यसका अलावा एक पालिका एक रङ्गशाला एक वडा एक खेल मैदान कार्यान्वयन, हरेक विद्यालयमा खेल शिक्षक र शिक्षा अनिवार्य गर्न पहल गर्ने एजेन्डाहरूमा समेत छलफल हुने नेपाल खेलकुद महासङ्घ प्रदेश कमिटी गण्डकीका अध्यक्ष बोधराज गिरीले बताए ।

 

त्यस्तै स्वास्थ्य, व्यवसाय र रोजगारीका लागि खेल अभियान गर्ने, प्रदेशस्तरीय खेलकुद नीति पुनरावलोकन, खेलाडीहरूको विकास, प्रशिक्षण र सुरक्षाका कार्यक्रमहरू, महिला र युवा सहभागिता वृद्धि लगायतका विषय अधिवेशनमा उठाइने अध्यक्ष गिरीले पत्रकार सम्मेलन जानकारी दिए।

खेलकुद महासङ्घ नेपालमा खेलकुदको विकास विस्तार तथा खेलको क्षेत्रमा देखिएका असमानता र विभेदको अन्त्य गर्दै खेलको माध्यमबाट देशको गौरव प्रतिष्ठा विश्वस्तरमा फैलाउने तथा स्वस्थ नागरिक मार्फत सुखी नेपाली समृद्ध नेपाल स्थापनाका लागि अगाडि बढेको संस्था भएको नेपाल खेलकुद महासङ्घ केन्द्रीय सचिव विष्णु पुनले बताए ।

अधिवेशनको उद्‌घाटन सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । अधिवेशनको तयारीमा समेत तीव्रता दिइएको सचिव अधिकारीले जानकारी दिए । महासंघ गण्डकीले दुइ संस्करणको खेल महोत्सव सफलतापूर्वक आयोजना गरिसकेको छ । अधिवेशन माछापुच्छ्रे पार्टी प्यालेस पोखरा( २५, हेम्जामा हुनेछ ।

कमेन्टहरु
Loading...