शुभकामना कपमा बुधबार देखि क्वाटरफाइनलका खेल हुने

पोखरा, ४ वैशाख /स्याङजा वालिङ युनाईटेडले हेमजामा जारी शुभकामना कप २०७५ मा सहज जीत निकाली अन्तिम आठमा आफ्ना स्थान सुरक्षीत गरेको छ ।

मंगलवार भएको प्रतियोगितामा संगम एफसीलाई ४–० को गोल अन्तरले पराजित गर्दै स्याङजा वालिङ युनाईटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो।

खेलमा स्याङजा वालिङ युनाईटेडका विश्वास श्रेष्ठले ह्याट्रिक गरे। उनले खेलको ३५, ४१ र ४८ मिनेटमा गोल गरी दोस्रो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा रहे। त्यसैगरी टीकराज गुरुङले खेलको ६५ मिनेटमा थप एक गोल गरे।

खेलमा विश्वास श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। यसअघि शुभकामना कपमा सहारा क्लबका गंगा गुरुङ पहिलो ह्याट्रिक गरेका थिए।

एल जी एसोसिएसन र नव आदर्श सामुदायिक विकास केन्द्रबीचको दोस्रो खेल वर्षका कारण रोकिएको आयोजकले जनाएको छ। ‘लगातार वर्षा भएकाले दोस्रो खेल खेलाउन सकिएन’–अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले भने–‘आजको यो खेल बुधवार विहान साढे आठ वजे खेलाउने जानकारी गराउँदछु।’

बुधवार देखि क्वाटरफाइनलका खेल हुने हेमजा युनाइटेडका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए। क्वाटरफाइनलको पहिले खेल आयोजक हेमजा–११ ‘ए’ र इन्द्रेणी एकिकृत विकास केन्द्र तथा दोस्रो खेल एविसी र सहारा क्लबबीच हुने छ।

कमेन्टहरु
Loading...