पेनाल्टी सुटआउटमा आयोजकलाई हराउदै पुलिस आहा राराको सेमिफाइनलमा

पोखरा, २४ फागुन / आयोजक सहारा क्लबलाई पेनाल्टी सुटआउटमा हराउदै नेपाल पुलिस क्लबले १८ औं आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रबेश गरेको छ । अन्तिम केही सेकेण्ड सम्हालिन नसक्दा नेपाल पुलिसले निर्धारित समय र थपिएको समयमा १–१ गोलमा टुंगिएको थियो । घरेलु टोली बाहिरने क्रममा पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित हुदैं यात्रालाई बिट मार्दा बुढासुब्बा गोल्डकपको उपविजेता नेपाल पुलिस आहा राराको अन्तिम चारमा पुग्ने पहिलो टोली बन्यो ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अजय श्रेष्ठले निर्धारित समय सकिन १५ सेकेण्ड भन्दा कम समयमा गोल फर्काउँदै गोलगर्दै सहाराको आशालाई जीवन्त राखेका थिए । तर त्यो जीवन्तता पेनाल्टी सुटआउटमा पुगेर निराशामा परिणत भयो । उल्रिच राम्जेको प्रहारलाई नेपाल पुलिस क्लबका गोलकिपर रोशन खड्काले बचाउ गरेपछि सहारा निराश बन्न पुग्यो । उनीसँगै त्रिदेव गुरुङले पेनाल्टीलाई हावामा उडाईदिएपछि सहाराको जितको सम्भावना क्षणभरमै सकियो ।

आशिष गुरुङ र अजय श्रेष्ठले पेनाल्टीमा गोल गरे । नेपाल पुलिसका लागि भरत शाह, सौजन्य याख्खा राई, हेम तामाङ र सुमन जिसीले गोल गर्दा अनुप लिम्बुको प्रहारलाई बचाउ गरिदिएका थिए ।
७५ औं मिनेटमा भरत शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । गोलको खोजीमा रहेको पुलिसले सफलता चुम्ने क्रममा हुलमुलबाट निस्किएको बललाई शाहले गोलपोष्टको दिशा दिए । पुलिसले पहिलो हाफमा महत्वपूर्ण अवसर गुमाउन पुग्यो ।

३९ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको ‘पावर सट’ क्रसबारमा लागेर रिवाउण्ड हुन पुग्यो । सहाराका गोलकिपर अर्पण कार्कीले हातले पास दिने क्रममा डी बक्स भित्रै रवि पासवानले कलेक्ट गर्दै राईलाई गोलको लागि अवसर सृजना गरिदिएका थिए । तर पुलिसको लागि क्रसबारमा लागेर फर्किनु दुर्भाग्य बन्यो ।

१७ औं मिनेटमा पनि भोला सिलवालको पासलाई रवि पासवानले बललाई पोष्टको दिशा दिन सकेनन् । अनमार्क रहेका पासवानको प्रहार बाहिरिएको थियो । सहाराले पनि ७ औं मिनेटमा अनिष पोमु लिम्बुको पासमा विजय श्रेष्ठले प्रहार गरेको बल बाहिरिएको थियो । अतिरिक्त समयको १२ औं मिनेट १०२ मिनेट)मा स्टेफेन समीरको प्रहारलाई पुलिसका गोलकिपरले बचाउ गरेपछि सहाराले जितको खुशीयाली मनाउने अवसरबाट बञ्चित हुन पुग्यो । नेपाल पुलिस क्लबका गोलकिपर रोशन खड्का म्यान अफ दि म्याच घोषित भए ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आयोजित आहा रारा गोल्डकपको १८ औं सस्करणको दोस्रो क्वार्टरफाईनल खेल झापा ११ ले बुढासुब्बा गोल्डकप विजेता मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ ।

कमेन्टहरु
Loading...