पिपिएलमा साविक विजेता पोखरा पल्टनको दोस्रो हारसँगै दबावमा

पोखरा, २ पुस / पुनित मेहेराले अविजित ६१ रन बनाए पछि विराटनगरले पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै नमस्ते पोखरा प्रिमियर लिग टी-२० क्रिकेटमा पहिलो जित निकालेको छ । दोस्रो हार व्यहोरेको साविक विजेता पोखरा पल्टन पिपिएलका बाँकी खेल जित्नै पर्ने दबावमा परेको छ । पोखरा पल्टन चितवन राईनोजसँग अघिल्लो खेलमा पराजित भएको थियो ।

टस हारेर ओसिलो मौसममा खुलेर खेलेको विराटनगरले २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १४५ रन बनायो । ८.२ ओभर खेल्दै पहिलो विकेटको लागि मोहम्मद जैद र सुनिल धमलाले अर्धशतकीय साझेदारी निभाए । जैद व्यक्तिगत २६ रनमा आउटभएपछि टुटेको पार्टनरसिपलाई प्रदीप ऐरीले साथ दिने प्रयास गरे । सुनिल धमला ३६ रनमा आउट भएपछि मध्यक्रम व्याट्सम्यान सस्तैमा पभेलियन फर्किए ।

६८–१ को अवस्थामा रहेको विराटनगर टाईटान्सले ८ रन जोड्न् क्रममा चार विकेट गुमाउन पुग्यो । १४ औं र १५ औं ओभरमा चार विकेट गुमाएपछि पुनित र राजु रिजाल सम्हालिएर खेले । ७६–५ को स्थितिमा रहेको विराटनगरलाई पुनित र राजुको जोडीले छैटौं विकेटको लागि ६९ रनको साझेदारी गरेपछि विराटनगरले सम्मानजनक स्कोर तयार गर्यो ।

धमलाले ३६ रन बनाउने क्रममा २ चौका र २ छक्का हिर्काए । मेहेराले ६१ रन बनाउने क्रममा २६ बल खेल्दै ५ चौका र ४ छक्का व्याटबाट निकाल्दै अविजित रहे । बलिङमा भने पोखरा पल्टन निकै कमजोर देखियो । रसिद खान र प्राथमेश डाकेले समान ४ ओभर बलिङ गर्दै क्रमश ४० र ४३ रन खर्चिए ।

१४६ रनको लक्ष्य पछ्याएको पोखरा पल्टनका सात व्याट्सम्यान दोहोरो अंकभन्दा कम रनमै समेटिए । चौथो नम्बरमा आएका रोहितकुमार पौडेलको ३२ रनको योगदान दिएपनि १०० रनमै अलआउट हुन पुग्यो । पहिलो विकेटको लागि २८ रनको साझेदारी गर्दै पोखरा पल्टनका कुशल भुर्तेल र आशिफ शेखको जोडीले ३.२ ओभरसम्म साझेदारी निभाए ।

पहिलो विकेटको रुपमा कुशल भुर्तेल आउट भएपछि आएका रविइन्दर सिंह पनि शुन्यमै क्रिज छाडे । भुर्तेलले २४ रन बनाउने क्रममा १३ बल खेल्दै १ चौका र ३ छक्का हाने । आशिषले १३ रन बनाउन २२ बल खर्चिए । रोहितले ३८ बल खेल्दै ३२ रन बनाउन ३ चौका र १ छक्का प्रहार गरेका थिए । कुशल मल्ल र कप्तान शरद भेषवाकर शून्यमै आउट भए । किशोर महतोले ३, जितेन्द्र मुखिया र मोहम्मद जैद आलमले समान २/२ विकेट लिए ।

कमेन्टहरु
Loading...