लकडाउनमा पोखरा रंगशालामा फुटबल मैदानको काम धमाधम

पोखरा, ३० वैशाख / लकडाउन भएपनि पोखरा रंगशाला भित्रको निरन्तर काम भईरहेको छ । नियमित रुपमा पोखरा रंगशालाभित्रको निर्माण तथा मर्मत सम्भारका काम भईरहेको छन् ।

रंगशालाको फुटबल मैदान निर्माण अन्तिम चरणमा पुगेको छ भने वैकल्पिक फुटबल मैदान सम्याएर अहिले दुबो रोप्न काम भइरहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर रंगशालाको कामलाई निरन्तरता दिएको उनले बताए ।

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आउन १० महिना मात्रै बाँकी छ । प्रयोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माण भइरहेको उनले बताए । उनका अनुसार अहिले रंगशालामा करिब एक सय कामदारहरुले काम गरिरहेका छन् । वैकल्पिक फुटबल मैदान निर्माणको काम चैत १३ गतेदेखि देखी शुरु भएको हो ।

उनका अनुसार, रंगशालामा ‘बरमुडा’ दुबो रोपिँदैछ । वैकल्पिक फुटबल रंगशाला २०६४ सालमा निर्माण भए पनि मर्मत सम्भार र स्तरवृद्धि नहुँदा खेल्नै नहुने भएको थियो । युवा तथा खेलकुद मन्त्रालयले वैकल्पिक मैदान पुनर्निर्माण गर्न गर्न ९० लाख बजेट विनियोजन गरेको थियो । अहिले लकडाउनका समयमा मजदूरलाई बिहानको खाना र खाजा खुवाएर काममा लगाएको उनले जानकारी दिए ।

पोखरा रंगशालाको मुख्य फुटबल मैदान बनाउन १ अर्ब २८ करोडमा भारतीय कम्पनी ग्रेट स्पोर्ट इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले ठेक्का पाएको थियो । नवौं खेलकुदका लागि पोखरा रंगशालामा स्विमिङ पुल, सुटिङ रेञ्ज, हक्कि खेल मैदान बनाउन र क्रिकेट मैदानको स्तर उन्नती गर्ने बाँकी छ । क्रिकेट मैदानको लागि टेण्डर आह्वान भईसकेको छ ।

तीन करोड रुपैयाँको बजेट छ । बजेटले मैदानमा पीच मर्मत, बाउण्ड्री लाईन भन्दा बाहिर तारबारको फेन्सिङ, नाली निर्माण, दक्षिण तर्फ पभेलियन बनाउने योजनासहित टेण्डर आव्हान गरिएको उनले बताए । राष्ट्रिय खेलकुद परिषदले पनि बहुउद्देश्यीय कभर्ड हलमा सिट राख्नको लागि पनि टेण्डर आह्वान गरिसकेको छ । दुई हजार सिट राख्ने योजनासहित टेण्डर आह्वान गरिएको हो ।

पोखरा रंगशाला ४ सय १५ क्षेत्रफलमा फैलिएको छ । रंगशालामा फुटबलको दुइटा मैदान रहेको छ । पोखरा रंगशालामा फुटबल, क्रिकेट, आर्चरी, ह्याण्डबल, ब्याडमिन्टन, टेनिस, भलिबल, बास्केटबल, स्केटिङ, बहुउद्धेश्यीय कभर्डहल लगायतका संरचना रहेका छन् ।

कमेन्टहरु
Loading...