पोखरा, २८ जेठ /लामो समयको अन्यौलतालाई चिर्दै झण्डै छ महिनापछि पोखरा रंगशालाभित्रको फुटबल स्टेडियम बनाउन पुन टेण्डर आह्वान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले शुक्रबार ४५ दिने सूचनासहितको टेण्डर आह्वान गरेको हो । साग महिला फुटबललाई लक्षित गर्दै परिषदले पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन दोस्रो पटक टेण्डर आह्वान गरेपछि फुटबलमा नयाँ आयाम थपिने विश्वास छ । आह्वान गरिएको टेण्डरमा कम्पनीले डिजाईनसहित पेश गरी सहभागि हुनुपर्ने छ ।
परिषदले दश महिनाभित्रमा सक्ने लक्ष्यसहित गत मंसिरमा ग्लोबल टेण्डर आह्वान गरेको थियो । आह्वान गरिएको टेण्डरमा छ वटा कम्पनीले चासो दिदैं खरीद गरेका थिए । छ कम्पनी मध्ये अन्तिम छनोटको लागि एउटा कम्पनी चयन भएको थियो । तर अन्तत पुन टेण्डर आह्वान गर्नुपर्ने जनाउँदै उक्त कम्पनीलाई समेत अयोग्य घोषित गरिएको थियो ।
शुक्रबार आह्वान गरिएको टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको छ । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको छ ।
टेण्डर खरीद गर्ने अन्तिम मिति २०१८ जुलाई २२ तारिखसम्म तोकिएको छ । टेण्डर खरीद गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलरको हुनुपर्ने सर्त छ । खरीद गर्ने कम्पनीले आफनो कार्यपत्र समेत प्रस्तुत गर्नुपर्ने खाँचो छ । कम्पनीले टेण्डर मात्रै २५ हजार रुपैयामा खरीद गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।
सन २०१९ मा नेपालमा १३ औं साग गेम्स आयोजनाको जिम्मेवारी छ । जिम्मेवारीलाई मध्यनजर गर्दै परिषदले ढिलै भएपनि पोखरामा महिला साग फुटबल गर्ने लक्ष्यसहित टेण्डर आह्वान गरेको हो । ‘ढिलै भएपनि टेण्डर आह्वानले पोखरामा साग फुटबल हुने विश्वासको बातावरण तय भएको छ ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘प्रक्रिया ढिलो हुन पुग्यो । सबैलाई निराश पैदा गरेको थियो । तर अब स्टेडियम बन्नमा सबै ढुक्क छौं ।’ साग गेम्स अन्तर्गत महिला फुटबल सहित पोखरामा आर्चरी, भलिबल, टेनिससहितका खेलहरु सञ्चालन गर्ने योजना छ ।
माईल्ड स्टिल मोडुलर सिष्टमको हुने छ । दर्शक क्षमता उल्लेख गरिएको छैन् । यद्यपी २० हजार हुने अनुमान गरिएको छ । लागत एक अर्ब भन्दा बढी हुने अनुमान परिषदले गरेको छ । फुटबल स्टेडियम बनेपछि युवा तथा खेलकुद मन्त्रालयले पोखरालाई स्पोर्टस सिटीको रुपमा विकास गर्ने लक्ष्य केहीहदसम्म पुरा हुने छ । फुटबल स्टेडियम पछि पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउनुपर्ने खाँचो छ ।
फुटबल स्टेडियम बनाउनको लागि परिषदले गत माघ महिनामा २०४० सालमा निर्माण गरिएको दर्शक र भिआईपी प्यारापिट भत्काईएको थियो । भत्काइएको लामो समयपछि ढिलै भएपनि फुटबल स्टेडियम बन्नेमा आशा र विश्वास पोखराको फुटबलप्रेमीमा पलाएको छ । प्यारापिट भत्काएपछि उदांगो बनेको पोखराको फुटबल मैदान । परिषदले टेण्डर आह्वान गरेपछि फुटबल स्टेडियम बन्ने आशा पलाएको छ । तस्बिर फाईल ।