पोखरामा आहा रारा गोल्डकप शुरु, सहाराको उत्कृष्ट कमब्याकमा विजयी शुरुवात

पोखरा, २२ फागुन / दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै आयोजक सहाराले ए डिभिजन क्लब बिग्रेड ब्वाईजको चुनौतिलाई ३–२ गोलले पन्छाउँदै १८ औं संस्करणको आहा रारा गोल्डकपको क्र्वाटरफाईनल यात्रा तय गरेको छ । अतिरिक्त समयमा त्रिदेव गुरुङको उत्कृष्ठ हेडिङ गोल गरेपछि बिग्रेड ब्वाईजको क्र्वाटरफाईनल सपना पहिलो खेलबाट विट मार्यो । सहाराले अबको भेट नेपाल पुलिस क्लबसँग निधो गरेको हो ।

पहिलो सहभागितालाई अविष्मरणीय बनाउने ध्याउन्नमा रहेको बिग्रेड ब्वाईज क्लबले १८ औं आहा रारा गोल्डकपको उदघाटनमा सुखद शुरुवात गर्ने योजना अतिरिक्त समयमा आएर रोकिन पुग्यो । कमब्याक गर्दै उत्कृष्ट पुनरागमन गरेको सहाराले बराबरी गोल फर्काएको खुशीयाली भने एकमिनेट भन्दा बढी टिकाउन सकेन् ।

अनिल गुरुङले प्रहारलाई सहारा क्लबको डिफेन्सबाट रिफ्लेक्ट बललाई गोलकिपरले पन्च गर्ने प्रयास गरे । एक हातले पञ्च गरेपनि पेनाल्टी बक्सभित्र खसेको बललाई ६२ औंं मिनेट लेफ्ट विङ्गर विजय गुरुङले सेकेण्डबार च्याप्दै गोल गरेपछि सहाराको क्र्वाटरफाईनल सम्भावना कमजोर हुने संकेत देखिएको थियो ।

पहिलो हाफ गोलरहित टुंगियो । दोस्रो हाफमा गोल सम्भव हुन पुग्यो । ५८ औं मिनेटमा बिग्रेड ब्वाईजले गोलको खडेरी तोड्यो । अफ्रिकन खेलाडी कजिम ए. बुसारीको पासमा सहाराका खेलाडीको मार्किङमा नरहेका राजेश परियारले ‘क्लिनिकल्ली फिनिसिङ’ गर्दै अग्रता दिलाए । उनको अग्रता पनि लामो समय टिकाउन भने बिग्रेड ब्वाईज असमर्थ बन्यो । ६१ औं मिनेटमा सहाराले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै बराबरी गोल फर्काउँदै आयोजकको आशा फेरी जाग्यो । कमल थापाले हानेको फ्रिकिकलाई अफ्रिकन खेलाडी सेई उरिचले हानेको हेडिङ गोलमा परिणत भएपछि सहारा खेलमा फर्कियो ।

दश खेलाडीमा समेटिएको आयोजकले दुई पटक पछि परेको अवस्थामा खेलमा फर्कियो । २६ मिनेटमा किरण रायमाझीले रातो कार्ड खाँदै बाहिरिएपछि सहाराले दश खेलाडीमा आफनो अस्थित्वलाई बचाईराख्न कडा संघर्ष गरिरह्यो । ७८ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै सहारालाई फेरी एकपटक आशालाई जोगाई राखे । उरिचको लामो पासलाई सदुपयोग गर्दै गोल गरेपछि सहाराले खेलमा बराबरीको कमब्याक गर्यो । त्यसभन्दा अघि बिग्रेड ब्वाईजको महत्वपूर्ण अवसर खेर गयो । बुसारीको प्रहार फष्टबारमा लागेर रिवाउण्ड हुन पुग्यो ।

निर्धारीत समय २–२ गोलको स्थितिमा टुंगिएको थियो । १५ मिनेटको खेल थप गरियो । थपिएको १५ मिनेटको पहिलो हाफ गोलरहितमा टुंगियो । दोस्रो हाफको ५ मिनेट वितेपछि सहाराले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै निर्णायक गोल निकाल्यो । लङ फ्रिकिक बललाई त्रिदेवले गरेको हेडिङ बिग्रेड ब्वाईजका गोलकिपर अगाडि बढ्दा बचाउ गर्ने सामथ्र्य राख्नै सकेनन्, अन्तत बलले जाली चुम्यो ।

आयोजकले खुशीयाली मनाउँदा बिग्रेड ब्वाईजले पहिलो सहभागितालाई अविस्मरणीय बनाउनबाट चुक्यो । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित गोल्डकपको शुक्रबारको खेल शसस्त्र प्रहरी बलको एपीएफ क्लबले झापा ११ सँग खेल्ने छ ।

कमेन्टहरु
Loading...