एशियन टुर प्याराग्लाईडिङ वल्र्डकप, मौसमका कारण पहिलो दिनको टास्क रद्द

पोखरा, १२ फागुन / मौसममा आएको परिवर्तनले पोखरा आइतबार देखी शुरु भएको एशियन टुर प्याराग्लाईडिङ वल्र्डकपमा कुनैपनि पाईलटले सोमबारको टास्क पुरा गर्न सकेनन् । विहानी मौसम चिसो र मध्य दिनमा मौसममा आएको परिवर्तनले ४० किलोमिटरको टास्क पुरा गर्न नसक्ने भए पछि पहिलो दिनको खेल रद्द गर्नु परेको आयोजकले जानकारी दिएका छन् ।

नेपाल हवाई खेलकुद संस्था नाको आयोजनामा पोखरामा आयोजित प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरमा सहभागि पाईलटले सराङकोट उडान शुरु गरेका थिए । क्रमिक रुपमा उडान भर्दै टास्क पुरा गर्ने काममा मौसमले बाधा पुगेको छ ।

सराङकोटदेखि उत्तर तर्फ र पश्चिम दक्षिण तर्फ मौसम परिवर्तन हुदैं चिस्यानसँगै बादल लागेपछि टास्क रद्द हुन पुग्यो । क्रसकन्ट्री प्रतिस्पर्धामा प्रत्येक पाईलटले दिइएको टास्क पुरा गर्नुपर्ने प्रतियोगिताका संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए ।

पहाडी क्षेत्रमा बाक्लो कुहिरो लागेपछि टास्क पुरा हुने अवस्था नहरेको उनको भनाई थियो । सराङकोटबाट उडान भर्दै कास्कीको नागडाडाँ–अर्मलाकोटको ढिकी डाडाँ तथा पञ्चासे डाडाँमा टास्कमा विन्दु राखिएको थियो । पञ्चासे डाँडा दुरीको हिसाबले अन्य भन्दा अझ बढी र उचाईको ठाँउ पनि हो । पञ्चासे डाडाँ २५ सय मिटर उचाई भन्दा माथि पर्छ । मौसम चिसो हुदाँ पाईलटले उचाई लिन नसक्दा टास्क पुरा हुन सक्ने सम्भावना देखिदैन् ।

विश्वकपमा नेपाली १२ जना पाईलट सहित ९० जनाले सहभागिता जनाएका छन् । वल्र्डकप टुरमा अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, भारत, इरान, चेकोस्लोभाकिया, स्वीस, अष्ट्रिया लगायतका देशका पाईलटको सहभागिता रहेको छ ।

कमेन्टहरु
Loading...