कास्की फुटबल छनोटमा किन असफल !

पोखरा, २५ फागुन/खेलमा हारजित स्वभाविक हो । कहिले काँही नपत्याउने खोलाले नै बगाउँछ । उखान यसै बनेको भने हैन् । यतिबेला प्रदेशस्तरीय छनोट चलिरहेको छ । ३५ खेल मध्ये केही खेललाई संघले आफैंले छनोट गर्दै स्वतह पठाउने छ । केही भने प्रतिस्पर्धा गरेर नै छनोट हुनुपर्छ ।

गण्डकी प्रदेशमा यही फागुन २५ भित्रमा सबैजसो खेलको खेलाडीहरु चयन हुदैं आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् । केही व्यक्तिगत त कोही टिम गेमको लागि छनोट भईसकेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पाँचौ स्थानमा पुग्यो । यसै वर्षदेखि प्रदेशस्तरीय छ ।तीन विभागीय टोलीको बर्चस्व एकातिर छदैं छ । अर्को तिर सात प्रदेशले आफनो अब्बलता देखाउँदै स्तर उकास्ने प्रयत्नमा जुटिरहेको देखिन्छ ।

यो वर्ष फुटबलको नेतृत्व कास्कीले गर्दैन् । किन ! उत्तर सहजै छ । मोफसलको फुटबलमा स्तरीयता देखाउनबाट कास्की छनोट खेलमै चुक्न पुग्यो । प्रदेशस्तरीय छनोटमा लमजुङले स्वर्ण पदक जित्दै इतिहास लेखायो । त्यसैले फुटबलको गण्डकी प्रदेशको नेतृत्व सम्भवत लमजुङले गर्ने छ । सहभागि जिल्लाबाट केही खेलाडी पनि छनोटमा पर्न सक्ने छन् । तर अधिकांश खेलाडी भने लमजुङको देखिने छ ।

यतिबेला देशका विभिन्न शहरमा नकाउट फुटबल पनि चलिरहेकै छ । त्यसले गर्दा विभिन्न क्लबमा आबद्ध खेलाडीहरु सम्बन्धित प्रदेशबाट सहभागि भने भएका छैनन् । कास्कीका अधिकांश खेलाडी विभिन्न क्लबबाट डिभिजन एवं नकाउट फुटबलमा देखिएका छन् । जसको प्रत्यक्ष असर भने कास्कीलाई छनोट खेलमा व्यहोर्नुपरेको हारको परिणाम नै हो ।

त्यसो त फुटबलमा दोस्रो चरणका पुस्ता फुटबलको लागि तयार भईसकेको छैन् । सधै उही पुरानै खेलाडीको भरमा खेल्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ । पोखरामै वर्षेनी दुई ठूला प्रतियोगिता हुन्छन् । तर घरेलु खेलाडीको उपस्थिति भने प्राय शून्य नै देखिन्छ । देशमै सबैभन्दा बढी सेभेन ए साईड फुटबल प्रतियोगिता हुने शहर पोखरा नै हो । तर पोखरामा स्तरीय खेलाडीको अभाव भने जहिल्यै देखिदैं आएको छ । त्यसको पछिल्लो उदाहरण नै प्रदेशस्तरीय छनोटमा देखिएको कमजोर प्रदर्शन ।

नियमित प्रतियोगिता सञ्चालन भईरहेका छन् । पोखरा रंगशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता चलिरहँदा खेलाडी भने अन्य साना प्रतियोगितालाई प्राथमिकता दिने गरेकोले पनि कमजोरी देखिएको प्रष्ट हुन्छ । खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगितालाई भन्दा पनि टोलस्तरीय फुटबल प्रतियोगितालाई महत्व ठान्नुले पनि उपलब्धी विहीन हुन पुगेको हो । त्यसको खेलाडीमा दीर्घकालिन असर पर्न सक्छ । अहिले छनोटमा सहभागि नभएको खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउदैन् ।

त्यसो त पोखरामा दर्जनौ क्लब छन् । ती क्लबले आफनो खेलाडी भने बनाउन सकेको छैन् । अनुबन्धन गर्न सकेको छैन् । खेलाडीमा पनि क्लबसँगै आफनो ठाँउ र जिल्ला भन्ने अपनत्व नै देखिदैन् । खेलाडीले खेल्न पाउनुपर्छ । सर्वमान्य नियम नै हो । तर आफनो क्षेत्रको लागि पनि खेल्नुपर्छ भन्ने मानसिकता अझै विकास हुन सकिरहेको छैन् ।

कास्की जिल्ला फुटबल संघले आफनो मातहतमा रहेको क्लबलाई राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशस्तरीय छनोटको लागि निर्देशन गर्न नसक्नु आफैंमा अर्को कमजोरी हो । क्लबले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा आफनो खेलाडीलाई उपस्थित गराउन नसक्नु अर्को कमजोरी हो । कमजोरीकै कारण अहिले छनोटबाट आएको प्रतिफल हो ।

फुटबल प्रशिक्षक छैन् । प्रशिक्षक विहीनको अवस्थाले पनि खेलाडीको लय देखिदैन् । कमी कमजोरी औंल्याउँदै प्रदर्शन गरेर नजिता आफनो पक्षमा पार्ने प्रशिक्षक नहुुनुको पीडा पनि उस्तै गरी थपिएको छ । क्लबका प्रशिक्षक छन् तर उनीहरुले आफनो दक्षता र क्षमता प्रदर्शन गर्ने तर्फ खास ध्यान दिन सकिएको जस्तो देखिदैन् । परिषदकै प्रशिक्षकको निवृत्तिभरण भएपछि प्रशिक्षक विहीन छ । क्लबका प्रशिक्षकले पनि आफनो दायित्व र जिम्मेवारीलाई गहन रुपमा भूमिका निभाएको नजिताले प्रष्ट्याईसकेको छ ।

‘छनोटमा खेल्न नआएका खेलाडीलाई समावेश गरेर टोली तयार पर्ने अवस्था देखिदैन् । जो सहभागि भए त्यही खेलाडी छनोट भएर राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने छ, ’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘टिम गेममा पनि छनोट भएपछि प्रदेशमा नाम जान्छ । प्रदेशले राष्ट्रिय खेलकुद परिषदमा पठाउँछ । त्यसैको आधारमा प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन् ।’

उनका अनुसार सिनियर हुदैमा छनोट खेल नखेलि राष्ट्रिय प्रतियोगितामा सहभागि हुनै पाउँदैन् । फुटबलमा अहिले कास्कीका सिनियर खेलाडीहरु विभिन्न क्लबमा आवद्ध भई नकाउट फुटबल खेलिरहेको जनाउँदै उनले छनोटमा सहभागि नभएका खेलाडीको उपस्थिति नहुने स्पष्ट पारे । खेलकुद विकास समितिले पनि फुटबल खेलाडीलाई समयमै निर्देश गर्न नसकेको प्रष्टिएको छ ।

कास्की जिल्ला फुटबल संघले पनि आफनो मातहतमा रहेको क्लबलाई राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी तयार गर्नुपर्नेमा खासै ध्यान नदिएको स्पष्ट छ । संघले पनि मोफसलमा भएको प्रतियोगिताले खेलाडी व्यस्तताले कास्कीको टिम प्रभावशाली बनाउन नसकिएको जनाएको छ । ‘अधिकांश खेलाडी ए डिभिजनमा खेल्ने छन् । ती खेलाडी विभिन्न क्लबबाट विभिन्न प्रतियोगितामा खेलिरहेका छन् ।

आउँदा आउँदै ढिलो हुन पुग्यो’कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ भन्छन–‘जुनियर खेलाडीलाई मैदानमा उतार्दा नतिजा कास्कीको पक्षमा आउन सकेन् ।’ खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा मोफसलमा आयोजना हुने फुटबल प्रतियोगितालाई महत्व दिएका छन् । दिनु पनि स्वभाविकै हो । जुन व्यवसायिकतासँग जोडिएको छ ।

कमेन्टहरु
Loading...