हाप्किडो संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा एमबी आस्था मगर

पोखरा, २५ पुस / नेपाल मार्शल आर्टस हाप्किडो संघको गण्डकी प्रदेश समिति गठन भएको छ ।
पत्रकार मानबहादुर घर्तीमगर (एमबी आस्था)को अध्यक्षातामा एक सदस्यपछि थप हुने गरि १३ सदस्यी प्रदेश समिति एक कार्यक्रमका बीच पोखरामा गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा तारामाया थापामगर र दिनेश रोकामगर, सचिवमा प्रेम बुढामगर र कोषाध्यक्षमा वसन्ती बुढामगरलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा मदन जिसी, रेखा तामाङ, विराज गुरुङ, दर्शन आलेमगर, कृष्ण महर्जन, कृतिका गिरी र सन्दिप वि.क. रहनुभएको छ ।

समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मिना गुरुङले शुरुमा स्वास्थ्य र मनोरञ्जनसँग मात्र जोडिएको खेलकुद क्षेत्र अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दै खेल क्षेत्रको विकासको लागि खेलाडी मात्र नभई देश नै लाग्नुपर्ने बताउनुभयो ।

अहिले खेल क्षेत्र पनि धेरै व्यवसायिक भई सकेको भन्दै कुनै पनि खेलाडीले आर्थिक अभावले खेल क्षेत्रबाट सन्यास लिनुपर्ने अवस्था नरहेको भन्दै खेलाडीले पनि आफनो क्षमता अभिवृद्धि गर्न तर्फ ध्यानदिनुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय रुपमा आफनो पहिचान बनाई सकेको हाप्किडो खेललाई नेपालमा पनि राम्रोसँग चिनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगर, मगर संघ कास्कीका सल्लाहकार बालकृष्ण काउछमगर, संचारकर्मी हर्क आलेमगर, नेपाल मार्सल आर्टस हाप्किडो संघ ५ नं. प्रदेशका संयोजक सुवास परियार लगायतले बोल्नु भएको थियो ।

नयाँ समितिको घोषणा गर्दै हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले अगामी माघ ११ र १२ गते पोखरामा हुने हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारलाई मध्य नजर गर्दै आफूहरुले गण्डकी प्रदेशमा संघको नयाँ समिति गठन गरेको बताउनुभयो ।

२० भन्दा बढी राष्ट्रका खेलाडी र खेल प्रशिक्षकले सहभागिता जनाउने उक्त सेमिनारले पोखराको खेलकुद र पर्यटन क्षेत्रमा मात्र नभई नेपाल भ्रमण वर्षलाई पनि सहयोग पुग्ने बताउनु भयो ।
हाप्किडो कोरियन मार्शल आटर््स खेल हो । ‘हाप्किडो’ शब्दको प्रयोग कोरियन भाषाबाट प्रतिपादित भएर आएको हो ।

हाप्किडो खेलमा अन्तर्राष्ट्रिय रुपमा आफूलाई चिनाइसक्नु भएका कालीबहादुर घर्तीमगरले नेपालमा पनि यो खेल भित्र्याउन आवश्यक रहेको बताउनु भयो । यो सेल्फ डिफेन्स गेम हो । हाप्किडोको च्याम्पियनसिप आफ्नै विधि, प्रक्रिया र नियमानुसार खेलिन्छ ।

यस खेलमा किक, पञ्च, थ्रोइंग लक सम्पूर्ण शरीरका अंगहरु र टेक्निकहरूको प्रयोग गरिएको हुन्छ साथै शरीरका अंगहरू बाहेक पिस्तोल, लाठी, चाकु, डोरी जस्ता आत्मरक्षाका आधुनिक हतियार प्रयोग गरिएको हुन्छ । भने यसमा तेक्वान्दो, कराते, बक्सिङ, जूडो आदि मार्शल आटर््स खेलको कलालाई समावेश गरिएको हुन्छ ।

संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संघका कास्की जिल्ला सचिव रविन गुरुङले सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...