फेवातालको माटो झिकेर तीन वटा विच भलिबल कोर्ट निर्माण गरिदैं

पोखरा, ६ कार्तिक/ पोखराका खेलकुदकर्मीका ध्यान मंसिर १५ मा केन्द्रीत छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको मितिलाई ध्यानमा राख्दै पुर्वाधार धमाधम शुरु गरिएको छ । यद्यपी बजेट विनियोजन भने भएको छैन् । बजेट नआउँदा काम बीचैमा अलपत्र पर्ने सम्भावना पनि उत्तिकै छ ।

पोखराले सागको लागि ९ खेल आयोजना गर्ने जिम्मेवारी पाएको छ । जिम्मेवारीसँगै फेवातालको किनारमा बीच भलिबलको कोर्ट निर्माण कार्य शुरु भएको छ । फेवातालको माटो(पाँगो बालुवा) निकालेर तालकै किनारस्थित बाराही खेल मैदानमा कोर्ट निर्माण कार्य शुरु गरिएको हो । खेल मैदानको पश्चिम तर्फ खाल्टो जमिनमा बालुवा भरिएको छ ।

खाल्टो भर्न ४ सय ट्रिप बालुवा खन्याईसकिएको छ । अझै ३ सय ट्रिप खन्याउनुपर्ने छ । ‘साग अघि नै निर्माण गर्ने योजनासहित काम धमाधम गरिएको छ ।’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली भन्छन्–‘तालबाट माटो(पाँगो बालुवा) निकालेर जमिन सम्याउने काम भईरहेको छ ।’ उनले जमिन सम्याउन मात्रै ७ सय ट्रिप बालुवा खन्याउनुपर्ने सुनाए । जमिन सम्याईसकेपछि मसिनो छानेको बालुवा राखेर मैदानलाई अन्तिम रुप दिईने उनको भनाई थियो ।

खेल मैदान नेपाल ट्रष्टको स्वामित्वमा छ । नेपाल आर्मीले संरक्षण गर्दै आएको छ । मैदानभित्र तीन वटा कोर्ट बनाईने उनले सुनाए । ‘एउटा पहिले नै बनाइएको कोर्ट छ । नयाँ तीन वटा कोर्ट तयार पार्ने छौं ।’ उनले भने–‘कोर्टसँगै शौचालय र चेन्जिङ रुम निर्माण गरिने छ ।’ सागको लागि समय निकै कम छ । पुर्वाधार ठ्याक्कै भनेजस्तो भईसकेको छैन् । हतारमै काम गर्नुपर्ने परिस्थिति छ ।

उनका अनुसार दुई हप्ता भित्रमा काम सकिने छ । तिहारको विदाले केही दिन काम रोकिन्छ । उनका अनुसार पुरानो कोर्टलाई मर्मत सम्भार गर्ने छौं । ‘अन्तराष्ट्रिय प्रतिस्पर्धाको लागि चारवटा कोर्ट चाहिन्छ ।’ उनले भने–‘त्यही अनुसार तीनवटा नयाँ कोर्ट बनाईदैै छ ।’

सम्याईएको जमिन झण्डै १ सय मिटर लम्बाईको छ । ३०देखि ३५ मिटर चौडाईको छ । बिच भलिबल कोर्ट११ मिटर लम्बाई र ५ मिटर चौडाईको हुने छ । अर्को भलिबल कोर्ट भने १८ मिटर लम्बाई र ९ मिटर चौडाईको हुन्छ । चेन्जिङ रुम र शौचालय ४/४ वटा बनाईने छ । शौचालय यथावत छन् । त्यसलाई मर्मत सम्भार गर्नुपर्ने आवश्यकता छ । मर्मत सम्भारपछि साग विच भलिबलको लागि प्रयोग गर्न सकिने छ ।

लागत ५२ लाख रुपैयाँको हो । यद्यपी लागत अनुसारको बजेट विनियोजन भएको छैन् । ‘बजेट आईसकेको छैन् । यद्यपी सागलाई लक्षित गर्दै काम गर्नुपर्ने बाध्यता छ ।’ उनको भनाई थियो । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले पनि निकासा भएको रकमलाई बाँडफाँड गरेर पुर्वाधार तयार गर्ने बताए । ‘केही रकम आएको छ । आवश्यकता अनुसार बाँडफाँड गरेर काम गर्छौ ।’ उनको भनाई थियो ।

कमेन्टहरु
Loading...