गौतम बुद्ध रंगशाला निर्माणका लागि कलश सहकारीको सहयोग

भरतपुर, १७ फागुन / धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउदै गरेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगका लागि पोखराको कलश बचत तथा ऋण सहकारी संस्थाले रु ७५ हजार प्रदान गरेको छ ।

निर्माणधिन रंगशालामा पुगेको सहकारीको टोली उक्त रकम प्रदान गरेको हो । सहकारीका अध्यक्ष दुर्गा प्रसाद सुबेदीले रंगशाला निर्माणका सदस्य कुमार कट्टेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रकम प्रदान गरिएको बताए ।

उनले कलाकार सीताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तलीले थालेको विकासको अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । राज्यले गर्नु पर्ने काम कलाकारले अभियानका रुपमा गरेकोमा सहयोग गर्नुपर्छ भावनाको विकास भएको उनले सुनाए । कलाकार कुमार कट्टेलले देश भित्र बनिरहेको रंगशाला नेपालीकै रंगशाला भएको बताए । उनले हरेक जिल्लाबाट स्वतः स्फुर्त सहयोग जुटिरहेकोले उत्साहित भएको बताए ।

सहयोग गरे वापत फाउण्डेशनले सहकारीलाई सम्मान पत्रद्धारा सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन रंगशाला निर्माणका सदस्य अर्जुन भुषालले गरेका थिए । सहकारीहरु मध्य पोखराबाट पहिलो सहकारीको सहयोग प्राप्त भएको उनले बताए । यो सहयोगले वित्तिय संस्थालाई पनि सहयागका लागि सन्देश पुग्ने उनले सुनाए । कलाकार सीताराम कट्टेल तथा कुञ्जना घिमिरेको अगुवाइमा धुर्मुस फाउण्डेसनले निर्माण गरिरहेको रंगशाला २० बिघा ६ कट्ठा क्षेत्रफलमा निर्माण हुदैछ ।

२५ हजार दर्शक क्षमताको रंगशालामा ४ प्रवेश द्वार रहनेछन् । मुख्य प्रवेश द्वार नेपालको झल्को दिने रहनेछ । निर्माणका लागि अगाडि सारिएको रंगशाला क्रिकेटका अलावा अन्य खेलकुद आयोजना गर्न योग्य रहने फाउन्डेसनले बताएको छ । रंगशालासँगै २ छुट्टै अभ्यास मैदानसमेत हुनेछन् । यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डन्डीबियो, लन टेनिस लगायतका खेलमैदान रहनेछन् ।

कमेन्टहरु
Loading...