माघ दोस्रो साता पोखरामा मलेसिया र नेपाल क्रिकेटमा प्रतिस्पर्धा गर्ने

पोखरा, २३ पुस/ पोखराका क्रिकेटप्रेमी दर्शकले माघमा अन्तराष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हेर्ने अवसर पाउँदै छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा नेपाल र मलेसियाको क्रिकेट टिम बीचको प्रतिस्पर्धा हेर्ने अवसर जुरेको छ ।

नेपालसँग अन्तराष्ट्रिय एकदिवसीय खेल खेल्न मलेसियन टिम आगामी माघ ५ गते पोखरा आईपुग्ने छ । पोखराको मैदानमा माघ ६ गते सोमबार घरेलु टोलीसँग तीन एकदिवसीय खेलमध्ये पहिलो खेल खेल्ने छ ।

मलेसियाको टोली इटहरीमा आयोजित मनमोहन स्मृति एकदिवसीय क्रिकेट खेल्न केही दिनमै आईपुग्ने छ । इटहरीमा एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी माघ ४ गते शनिबार टुंगिने छ । आईतबार इटहरीबाट प्रस्थान गर्दै मलेसियन टोली पोखरा आईपुग्ने छ । ‘माघ ६ गते(जनवरी २० तारिख)मा पोखराको मैदानमा वान डे म्याच हुने कार्यक्रम तय भएको छ ।’ नपोल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतामले भने–‘ तीन एक दिवसीय म्याच खेलेपछि मलेसियन टिम स्वदेश फर्किने छ ।’ उनका अनुसार मलेसियासँगको सबै खेल पोखरामै खेलिने छ । नेपाल क्रिकेट संघ(क्यान) तीनै खेल एकदिवसीय हुने छन् ।

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान बाहेक अन्य पुर्वाधार भने केही पनि छैन् । अन्तराष्ट्रिय एकदिवसीय खेलको लागि अन्तराष्ट्रियस्तरकै पुर्वाधार चाहिन्छ । तर त्यो पुर्वाधार पोखरामा भने उपलब्ध छैन् । केही दिन अघि मात्रै पोखरामा फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेर टुग्याईएको छ । फ्रेन्चाईज लिगमा समेत केवल मैदान बाहेक अन्य पुर्वाधार अस्थायी रुपमा टेण्ट राखेर बनाईएको थियो ।

एक दिवसीय खेल खेल्ने नेपाली टोली पुर्व तयारीको लागि शुक्रबार पोखरा आउने छ । शुक्रबार आईपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीले २५ दिन पोखरामा बन्द प्रशिक्षण गर्ने छ । त्यसपछि नेपाली राष्ट्रिय टोलीले काठमाडौंको त्रिभुवन विश्वविद्यालयको मैदानमा त्रीदेशिय सिरिज खेल्ने छ । सिरिजको लागि टिम व्यवस्थापकको जिम्मेवारी पनि गौतमलाई नै तोकिएको छ ।

कास्की जिल्ला क्रिकेट संघले पोखराको मैदान मात्रै रहेको उल्लेख गर्दै अन्य पुर्वाधार केही पनि नभएको गुनासो गरेको छ । ‘पोखरामा मैदान छ तर अन्य पुर्वाधार केही पनि छैन् । पुर्वाधारको लागि नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय सबैसँग आग्रह गर्दै आएका छौं ।’ संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘सबै अस्थायी रुपमा बनाउन खर्चिलो हुन्छ । अब स्थायी संरचना नै बनाउनुपर्छ ।’

मैदान तयारी छ । पिच मर्मत गर्नुपर्ने र आउटफिल्डको लेभलिङ गर्नुपर्छ । खेलाडीलाई अत्यावश्यक चेन्जिङ रुम, प्लयेर बक्स लगायतका पुर्वाधार बनाउनुपर्ने आवश्यक छ । पोखरालाई क्रिकेटको अन्तराष्ट्रिय ‘न्युट्रल भेन्यु’बनाउन सकिने चर्चा चलेको वर्षौ वितिसक्यो । तर ठोस पुर्वाधार तयार गर्ने तर्फ राष्ट्रिय खेलकुद परिषद र क्यान चुकिरहेका छन् । पुर्वाधारको लागि गुरुयोजनासहितको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाईसकिएको छ ।

मन्त्रालयले पोखरा क्रिकेट मैदानको लागि ३ करोड रुपैयाँ बजेट छुट्टाएको छ । गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गरिसकेको छ । बजेट निकासा गरी मैदान संरक्षण गर्न तारजाली(फेन्सिङ) लगाई नाला निर्माण गर्ने र दक्षिण तर्फ चेन्जिङ रुम तथा शौचालयसहितको व्यवस्थित पवेलियन निर्माण गर्ने योजना छ । योजना कार्यान्वयनको लागि कास्की जिल्ला क्रिकेट संघले बजेट निकासा गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।

कमेन्टहरु
Loading...