आहा रारा गोल्डकपको १८ औं सस्करण फागुन २२ देखि, १० टोलीले उपाधि भिडन्त गर्ने

पोखरा, १९ माघ / सहारा क्लबले १८ औं सँस्करणको आहा रारा गोल्डकप प्रतियोगिता फागुन २२ गतेदेखि चैत १ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । क्लबले फागुनको २२ गतेदेखि आयोजना गरिने मिति तय गरिएको गोल्डकपमा १० टोलीले उपाधि प्रतिस्पर्धा गर्ने छन् ।

फुटबल प्रतियोगिता गत मंसिरमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल आयोजना गरिएको मैदानमा सञ्चालन गर्ने आयोजक सहारा क्लबले जनाएको छ । महिला फुटबल प्रतियोगिता पोखरा रंगशालामा आयोजना गरिएको थियो ।

‘साग महिला फुटबल आयोजना गरिएको मैदानमा गोल्डकप प्रतियोगिता खेलाउने छौं ।’ आईतबार आयोजित पत्रकार सम्मेलनमामा सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले भने–‘आयोजना मितिसम्म मैदान तयारी भईसक्ने विश्वास हामीले लिएका छौं ।’

भारत र भुटानी क्लबसँग छलफल भईरहेको जनाएको छ । प्रतियोगिताको लागि पुरस्कार रकम बारे समेत छलफलकै चरणमा रहेको क्लबले उल्लेख गरेको छ । हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको गोल्डकपलाई विभिन्न संघसंस्थाले सहप्रायोजन तथा उपप्रायोजन एवं प्रायोजन गर्दै आएका छन् ।

दोस्रो पुरस्कारको प्रायोजन हिमा–अस कन्सल्टेन्सी, बेष्ट अफ फाईभको पुरस्कारलाई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि, सर्वोत्कृष्ष्ठ खेलाडी प्रायोजन अप्रिला स्कुटर, फेयर प्ले पुरस्कार प्रायोजन रोयल इन्फिल्ड बुलेट बाईक, सर्वा्धिक गोलकर्ता पुरस्कारलाई सनराईज ड्राइभिङ स्कुल प्रालि लगायतले प्रायोजन गरेका छन् ।

पत्रकार सम्मेलनन सहारा क्लब युकेका महासचिव धनु थकालीले फुटबल प्रतियोगितालाई विगतमा झैं अबका वर्षमा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले पनि क्लबले आयोजना गर्दै आएको फुटबलसँगै अन्य गतिविधिलाई सहयोग निरन्तरता गर्ने र अन्यलाई सहयोगको लागि आग्रह गरे ।

मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले प्रतिष्ठित गोल्डकपको लागि आफुहरुले प्रायोजन गर्न पाउँदा निकै गौरव अनुभूति भएको प्रष्टयाए ।प्रतियोगिताको लागि गण्डकी प्रदेश सदस्य राजीव गुरुङले ५० हजार, समाजसेवी गणेश शर्माबाट ५० हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका छन् ।

कमेन्टहरु
Loading...