मनाङ मस्र्याङ्दी आहा राराको फाईनलमा

पोखरा, २९ फागुन / आहा राराको १८ औं सस्करणको अन्तिम सेमिफाईनलमा आर्मीलाई हराउदै मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रबेश गरेको छ । मनाङ मस्र्याङ्दी क्लब आहा रारा गोल्डकपको संस्करणमा दशौं पटक फाईनल प्रवेश गर्ने क्रममा नेपाल आर्मीलाई ३–२ गोलले पराजीत ग¥यो ।
मोफसलको राईनो कप उचालेको आर्मी पोखरामा च्याम्पियन बन्ने सपना अधुरै बनेको छ ।

धरान गोल्डकप उचालेर पोखरा आईपुगेको मनाङ मस्र्याङ्दी टोली फाईनल प्रवेश गर्दै छैटौं उपाधिको लक्ष्यमा छ । अब उपाधिको लागि मनाङ मस्र्याङदीले पुरानै प्रतिस्पर्धी टोली नेपाल पुलिस क्लबसँग शनिबार खेल्ने छ ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक दोस्रो सेमिफाईनलमा मनाङ मस्र्याङ्दीले आर्मीलाई निकै दबावमा राख्यो । चार मिनेटमै पहिलो गोल निकालेपछि मनाङले आर्मीमाथि अग्रता लिएको थियो । खेलको चार मिनेटमा विदेशी खेलाडी फ्लोरेन्टको गोल गरे । मनाङले दोस्रो गोलको अवसर भने २८ औं मिनेटमा निकाल्यो ।

अन्जन विष्टको पासमा विमल रानाले सेकेण्ड बार च्याप्दै गोल गरे । पहिलो हाफ हुनु पाँच मिनेट अघि मात्रै गोल फर्काउँदै आर्मीले कमब्याकको सम्भावना देखायो । आर्मीका कप्तान भरत खवासले ४० औं मिनेटमा ‘ओपन हेड’ गोल गरे । आर्मी मनाङसँग ए डिभिजन लिगमा समेत हार व्यहोरेको थियो । अन्जन विष्टले ८२ औं मिनेटमा गोल गर्दै ३–१ को स्थितिमा पुर्याए ।

विमल रानाको पासमा विष्टले गोल किपरलाई विट गर्दै गोल गरेपछि मनाङको जित लगभग सुनिश्चित हुन पुग्यो । आर्मीले कमब्याक गर्यो । ८३ औ मिनेटमा दिप लामाले गोल फर्काउँदै सेमिफाईनललाई निकै प्रतिस्पर्धात्मक बनाए । यद्यपी बराबरको स्थितिमा ल्याउन आर्मी असक्षम बन्यो । म्यान अफ दि म्याच मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी फ्लोरेन्ट घोषित भए । फाइनले शनिबार मनाङ मस्याङदी क्लब र नेपाल पुलिस क्लब बिच हुनेछ ।

कमेन्टहरु
Loading...