आहा रारामा पुलिस र मनाङको छैटौं किर्तिमान उपाधि लक्ष्य

पोखरा, ३० फागुन / नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लब नेपाली फुटबलमा पुरानै प्रतिस्पर्धी हुन् । ए डिभिजन लिगदेखि मोफसलका नकाउट फुटबल प्रतियोगितामा यी दुवैको प्रतिस्पर्धा रोचक र रोमाञ्चक हुने गर्छ । दुवै टोली उपाधिका भोका छन् । त्यही उपाधि भोक मेटाउन शनिबार पोखरा रंगशालामा उत्रिने छन् । आहा रारा गोल्डकपको १८ औं सस्करणको फाईनलमा यी दुवै टोलीको खेल फेरी एक पटक पोखरेली दर्शकले हेर्ने छन् ।

धरानको बुढासुब्बा गोल्डकपमा दुवैले फाईनल खेलेर पोखरा आईपुगे । मनाङ मस्र्याङ्दीले उपाधि उचाल्यो । नेपाल पुलिस उपविजेता बन्यो । पोखरामा दुवैको शाख सम्झन योग्य छ । गर्विलो छ । दुवैले पोखरामा आहा राराको उपाधि समान ५–५ पटक उपाधि जितिसकेका छन् । दुवैको लक्ष्य भने किर्तिमानी उपाधिको लागि खेल्ने छन् ।

छैटौं पल्टको उपाधि जितेर किर्तिमान कायम गर्ने लय दुवैले क्र्वाटरफाईनल र सेमिफाईनलका खेलहरुमा देखाईसकेका छन् । सहारा क्लबकै आयोजनामा नेपाल पुलिसको उपाधि छैटौं हो । ‘जित्नकै लागि खेल्ने हो । उपाधि जित्छौं ।’ नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले बताए । शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा थापाले जित्ने गरी मैदान उत्रिने दावी गरे ।

यी दुईको फाईनल भेट ठ्याक्कै १५ वर्षपछि हुदैं छ । दोस्रो र तेस्रो आहा गोल्डकपमा यी दुई बीच उपाधि प्रतिस्पर्धा भएको थियो । बाजी भने दुवैमा मनाङ मारेको थियो । पोखराको मैदानमा दुवैले आफुलाई भाग्यमानी ठान्छन् । घरेलु मैदानकै रुपमा उभ्याउँदै आएका छन् । घरेलु मैदानमा उपाधि उचाल्न दुवैले सहज मान्छन् । दुवै टोलीमा घरेलु खेलाडी छन् । मनाङ मस्र्याङ्दीका प्रशिक्षक टोपे फुजाले विपक्षीको रणनीति अनुसार खेल खेल्ने स्पष्ट पारे ।

‘विपक्षीको रणनीतिलाई चिर्ने गरी योजना तय गर्छौं ।’ प्रशिक्षक र कप्तानद्वयको एउटै भनाई थियो । फाईनल खेल्नु अघिको पत्रकार भेटघाटमा उनीहरुले उपाधि उचालेर किर्तिमान रच्ने लक्ष्य रहेको सुनाए । नेपाल पुलिसका रक्षक अजित भण्डारी छन् । मनाङ मस्र्याङ्दीमा भने मिडफिल्डर शुशिल लामा छन् । कुनै बेला उनीहरु एकै टिम सहाराबाटै खेल्थे ।

मनाङमा विदेशी खेलाडीले अगाडि र पछाडीको जिम्मेवारी सम्हाल्दा पुलिसलाई भने केही सकस पर्ने देखिन्छ । यद्यपी लयमा रहेको पुलिस भोला सिलवालको अनुभवी कप्तानीले अझ खारिएको खेल प्रदर्शन गर्ने विश्वास दर्शकले गरेका छन् । विजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले भने ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ष्ठ खेलाडी प्रायोजन अप्रिला स्कुटर प्रदान गरिने छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ, गरिदैं आएको छ । बेष्ट फाईभलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने छ । हिमश्री फुड्सको मुख्य प्रायोजन तथा विभिन्न संघसंस्थाको प्रायोजन, सहप्रायोजन तथा उपप्रायोजनमा आयोजित प्रतियोगिताको फाईनल दिउँसो दुई बजेट पोखरा रंगशालामा हुने छ ।

कमेन्टहरु
Loading...