आहा रारामा एपिएफलाई हराउँदै झापा ११ क्वाटरफाइनलमा

पोखरा, २३ फागुन / विभागीय टोली नेपाल एपिएफ क्लबलाई हरादै झापा ११ फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापा ११ ले टाइब्रेकरमा ५–३ गोल अन्तरले हरायो ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

झापाका लागि अतिरिक्त समयको दोस्रो हाफको २१ औ मिनेटमा सुनिल खड्काले गोल गरे । अभिषेक गुरुङले दिएको क्रसलाई खड्काले भली प्रहार गर्दै गोल गरे । एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउन सकेनन् ।

अतिरिक्त समयको अन्तिम मिनेटमा एपिएफले बराबरी गोल फर्कायो । प्रविन स्याङतानको क्रसमा आकाश बुढामगरको हेडर क्रसबारमा लाग्दै मैदानमा फर्कंदा झापाका गोलरक्षक राजकुमार लिम्बुले बचाउन खोज्दा गोलमा परिणत भयो । अतिरिक्त समयमा पनि बराबरी भएपछि खेल टाइब्रेकर पुगेको थियो ।

प्रतियोगिता अन्तर्गत झापा ११ ले २५ फागुनमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । शनिबार नेपाल पुलिस क्लबले आयोजक सहारा क्लब बिच खेल हुनेछ ।

कमेन्टहरु
Loading...