आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ गते देखि

पोखरा, १५ चैत/पटक पटक मिति सर्दै अन्यौलपूर्ण बन्दै गएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तत बैशाखको पहिलो साता गर्ने निर्णय गरिएको छ । नेपालगन्जमा आयोजनामा हुने प्रतियोगिताको लागि आज बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले बैशाख ५ गतेदेखि गर्ने निर्णय गरेको हो ।

मंसिरमा आयोजना हुने भनिएको प्रतियोगिता पुष, माघ, फागुन, चैत हुदैं अन्तत बैशाखमा सारिएको हो । पछिल्लो समय चैत २७ गतेदेखि हुने निश्चितजस्तै भएको थियो । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले चैत १५ गते शुक्रबारको लागि बोर्ड बैठक आह्वान गरेका थिए । बैठकले बैशाख पहिलो साता गर्ने गरी निर्णय गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदको आज बसेको वोर्ड बैठकले आउँदो वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा उक्त प्रतियोगिता संचालन गर्ने निर्णय पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

बैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकांश युवा खेलाडी छन् । सातै प्रदेशले खेलाडी छनोट गरेर बन्द प्रशिक्षणको तयारी गरिरहेका छन् । यद्यपी मिति घोषणा नहुदाँ अन्यौलमा रहेका थिए ।

बैशाख १२ गतेदेखि फेरी दशजोड दुईको परीक्षा सञ्चालन हुने छ । त्यसले पनि खेलाडीको सहभागिता अन्यौलता छाउने सम्भावना छ । विद्यार्थीको परीक्षालाई ध्यानमा राखेर निर्णय गरेको भए अझ उचित हुने खेलकुदकर्मीले जोड दिएका थिए ।

गण्डकी प्रदेशबाट विभिन्न ३५ खेलका लागि फागुन ३ गतेदेखि २५ सम्म गरी ५६१ जना खेलाडी छनोट गरिएको छ । केही खेलका खेलाडी भने संघ मार्फत सिधै छनोट गरिएको थियो । परिषदले अब प्रतियोगिताको तयारीको लागि बन्द प्रशिक्षण शुरु गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । उनले सम्पूर्ण खेलाडी एवं खेल संघहरुलाई आफ्नो तयारीमा जुट्न आग्रह समेत गरेकाछन्।

आठौंको लागि सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीले नेपालगन्ज, कोहलपुर, कपिलबस्तु, बदिर्या र दांग लगायतका जिल्लामा विभिन्न खेलमा सहभागिता जनाउने छन् । अधिकांश खेल भने नेपालगन्जमै हुने सम्भावना पनि प्रवल छ ।

कमेन्टहरु
Loading...