आठौंमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिने

फाइल तस्बिर

पोखरा, २७ असार/गण्डकी प्रदेश सरकारले गण्डकीबाट प्रतिनिधित्व गरेका २०४ जना खेलाडीलाई शुक्रबार एकसाथ नगदसहित सम्मान गर्ने छ । नेपालगञ्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३५ खेलबाट पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ । खेलाडीहरुलाई २७ गते आज पोखरा रंगशालामा सम्मान गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य कास्य पदक विजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नेपालगन्जमा गत चैत–बैशाख सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले र्आचरीसहित ३५ खेलमा १८ स्वर्ण, २५ रजत र ५० कास्य पदक जित्दै पाँचौ स्थानमा रहेर नवौं सस्करण गण्डकी प्रदेशमा आयोजना गर्ने जिम्मेवारीसहित फर्किएको थियो । आर्चरीमा व्यक्तिगत र टिम गेममा गरी ५ स्वर्ण पदक गण्डकीले जितेको थियो । तर आर्चरीको पदकलाई भने राष्ट्रिय खेलकद प्रतियोगितामा समावेश नगर्दा गण्डकी प्रदेशले १३ स्वर्ण पदकमा चित्त बुझाएको थियो ।

गण्डकी प्रदेशले व्यक्तिगत तथा टिम गेममा गरी कुल २०४ पदक जितेको थियो । व्यक्तिगत र टिम गेममा गरी स्वर्ण पदक जित्ने खेलाडीको संख्या भने ४० जना छन् । त्यसैगरी रजत पदक जित्ने खेलाडीमा ५७ जना र कास्य पदक जित्ने खेलाडी भने १०६ जना छन् । उनीहरुलाई नगदसहित सम्मान गर्ने प्रस्तावलाई गण्डकी प्रदेश सरकार निर्णय गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

गण्डकी प्रदेशबाट विभिन्न खेलमा ५ सय ६१ जना खेलाडी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि थिए । ‘खेलाडीलाई हौसला थप्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ठ नजिताको अपेक्षा गर्दै नगदबाट सम्मान गर्ने निर्णय गरेका हौं ।’ क्षेत्रीय खेलकुद विकास समितिका श्रेष्ठले भने–‘प्रदेश सरकारको निर्णयले खेलकुदमा नयाँ आशाका किरण देखा परेको छ ।’ खेलाडी राष्ट्रका गहना हुन भन्ने धर्म र मर्मलाई बुझ्दै खेलाडीलाई थोरै रकमबाट भएपनि सम्मान गर्नुपर्ने दायित्वा र जिम्मेवारी प्रदेशको भएको उनको भनाई थियो ।

व्यक्तिगत तर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ । रजत पदक जित्नेलाई ७ हजार र कास्य पदक जित्ने खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी टिम गेममा स्वर्ण पदक जित्नेलाई नगद ७ हजार, रजतलाई ५ हजार र कास्य पदक जित्ने खेलाडीलाई ३ हजार रुपैयाँबाट सम्मानित गरिने उनले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले खेलाडीलाई नगदसहित सम्मान गर्न ११ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्री परिषदको बैठकले निर्णयले खेलाडी सम्मान गर्न ११ लाख ८५ हजार विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम गेम तर्फ पुरुष ह्याण्डबलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको थियो ।

ह्याण्डबलमा गण्डकी प्रदेशले सातौंमा भने कास्य पदकमा चित्त बुझाएको थियो । फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्दै गण्डकी प्रदेश टिम च्याम्पियन बनेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए ।

यसैगरी बिहीबारदेखि ११ औं प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समेत शुरु हुने छ । प्रतियोगिताको समापनमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डाको झण्डोत्तोलन समेत गरिने छ । राष्ट्रपति रनिङशिल्डमा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलको विभिन्न इभेण्ट्समा तथा तौल समूहमा ४८ स्वर्ण, ४८ रजत र ६० कास्यका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रथम हुने जिल्लाले २०, दोस्रोले १५ र तेस्रो हुने जिल्लाले भने नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिबी नेपालीले जानकारी दिए ।

कमेन्टहरु
Loading...