पोखरा रंगशाला, हतारमा गरिदाँ गुणस्तरीयतामा आशंका–अनुगमन समिति

पोखरा, ९ मंसिर / पुर्वाधारका केही काम अझै बाँकी छ । महिला फुटबलको लागि आवश्यक चेन्जिङ रुम तयार छैन् । महिला क्रिकेटको लागि अस्थायी संरचना तयार गर्ने योजना छ । आर्चरीसम्म पुग्ने बाटो कालोपत्रे गरेर फिनिसिङ गर्नुपर्ने छ । ह्याण्डबलको लागि म्याट आउन बाँकी छ । ट्रायथोलनेका लागि बजारको व्युटिफिकेशन गर्नुपर्ने खाँचो सहित अनुगमन टोलीले काम छिटो सक्न निर्देशन गरेको छ ।

अनुगमन समितिले अनुगमन गर्ने क्रममा फुटबल मैदानमा चेन्जिङ रुम यथासिघ्र बनाउन आग्रह गरेको छ । आईतबार स्थानीय अनुगमन,निरीक्षण तथा मूल्याङ समितिका संयोजक एवं गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति दीपक कोइरालाले पुर्वाधार तयार गर्नुपर्ने आवश्यकता देखिएको ठाँउमा पुर्वाधार र व्युटिफिकेशन गर्नुपर्ने ठाँउमा काम टुग्याउन सम्बन्धीतलाई निर्देशन गरेका छन् ।

‘फुटबलमा चेन्जिङ रुम, क्रिकेटमा अस्थायी संरचना, आर्चरीसम्म पुग्ने बाटो फिनिसिङ गर्नुपर्ने छ ।’ उनले भने–‘त्यो काम छिटो गर्न सम्बन्धीत पक्षलाई आग्रह गरिएको छ ।’ विच भलिबलको लागि बालुवा पखालेर चाल्ने काम गर्दै कोर्टमा हालिएको उनले सुनाए । उनले महिला क्रिकेटको लागि अस्याथी संरचना बनाउने विषयमा पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता आयोजकसँग समन्वय भईरहेको बताए । दक्षिण एशियाली खेलकुद प्रतियोगिता लगत्तै पोखरा क्रिकेट मैदानमा पिपिएलको दोस्रो संस्करण शुरु हुने छ ।

दोस्रो संस्करण मंसिर २८ गतेदेखि शुरु हुने मिति तय गरिएको छ । ‘खेलस्थलको व्युटिफिकेशन र ग्रिनरी बनाउनुपर्ने खाँचो छ ।’ अनुगमनपछि संयोजक कोईरालाले भने–‘व्युटिफिकेशन र ग्रिनरी महत्वपूर्ण पाटो हो । त्यसमा विशेष चासो र ध्यान दिनुपर्ने सुझाव दिएका छौं ।’ रंगशालाभित्र व्युटिफिकेशनको लागि काम भएपनि पैसा नआउँदा समस्या भएको छ । राष्ट्रिय खेलकुद परिषद एवं युवा तथा खेलकुद मन्त्रालयबाट बजेट नआउँदा कामले पूर्णता पाउन कठिनाई भएको गुनासो छ ।

संयोजक कोइरालाले छिटो गर्नुपर्ने कामको लागि गण्डकी प्रदेश सरकारबाट सहयोग गर्ने विषयमा छलफल भईरहेको सुनाए । ‘छिटो गर्नुपर्ने कामको लागि गण्डकी प्रदेश सरकारबाट आर्थिक सहयोग गर्ने विषयमा छलफल गरिएको छ ।’ उनको भनाई थियो । उनले हतारमा काम गर्दा काममा गुणस्तरीयतामा आंशका हुनेमा चिन्ता समेत व्यक्त गरे । फुटबलको लागि प्यारापिट तयार भएको उल्लेख गर्दै उनले फुटबल मैदानमा दुबो हाल्ने काम सकिएको बताए ।

समितिले खेलमैदानहरुमा अझैपनि केही निर्माणको काम बाँकी रहेकोले तीव्रगतिमा गुणस्तरीय काम गर्न निर्देशन दिएको छ । सागको मिति एकसाता मात्रै बाँकी रहदाँ अनुगमन समितिले स्वदेशी तथा विदेशी खेलाडीलाई राख्ने आवासस्थलको समेत अनुगमन गरिने बताए । ‘आवासको अनुगमन समेत गर्दै छौं,’– उनले भने–‘अनुगमन गरेर सम्बन्धित समितिलाई सुझाव दिन्छौ । समितिले नै सुझाव अनुसार कार्यान्वयन गर्छ ।’ पोखरामा ह्याण्डबल, व्याडमिन्टन, आर्चरी, महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, विच भलिबल र ट्रायथोलन गरी ८ खेल हुने छ ।

कमेन्टहरु
Loading...