देउवालाई एमालेको सुझाव–मनपरी निर्णय नगर्नुस्, राजीनामा दिएर घर जानुस्

२७ मंसिर, काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेले कामचलाउ सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न लागेकोमा आपत्ति जनाएको छ ।

राष्ट्रियसभा गठनको बखेडा झिकेर सत्ता लम्ब्याउने खेलमा लागेको त होइन भन्ने आशंका समेत गरेको छ ।

सरकारले बिहीबार मन्त्रिपरिषद बैठकबाट ७ वटा प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । तर, वाम गठबन्धनले यसमा आपत्ति जनाएको छ ।

एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व कानुनमन्त्री अग्नि खरेलले प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने काम नयाँ सरकारले गर्ने बताए ।

‘जतिबेला गर्नुपर्ने हो, त्योबेला नगर्ने । अहिले चुनावले नयाँ म्याण्डेट दिइसकेपछि प्रदेश प्रमुख नियुक्त गर्ने, जीएम नियुक्ति जस्ता काम गर्न मिल्दैन’ खरेलले भने्, ‘उहाँले त अब तत्कालै निर्वाचनमा पराजय स्वीकार गरेर राजीनामा गर्ने र जय नेपाल भन्दै घर जानुपर्ने हो ।’

पूर्व कानुनमन्त्री समेत रहेका खरेलले अघि थपे, देउवाजीले किन राजीनामा दिनुभएको छैन, मलाई अचम्म लागिरहेको छ ।’

प्रदेशका सांसदहरुको सपथग्रहण, राष्ट्रियसभा निर्वाचन कानुन ल्याउने जस्ता काम अब नयाँ सरकारले व्यवस्थापन गर्ने खरेलले बताए ।

‘चुनावको लगभग सबै रिजल्ट आइसक्यो, प्रधानमन्त्रीमा थोरै पनि नैतिकता छ भने उहाँले गर्ने पहिलो काम भनेको राजीनामा हो’ उनले भने, ‘हामीले यो राजीनामा मागेको होइन, सम्झाएको हो ।’

बेलायत, भारत जस्ता देशहरुमा आफ्नो पार्टी हारेपछि प्रधानमन्त्रीले राजीनामा घोषणा गरेको स्मरण गर्दै उनले भने, तर, उहाँ त अझै पनि केही महिना सत्तामा बस्न पाइन्छ कि भनेर बखेडा झिक्न थाल्नुभएको छ’ ।

कामचलाउ सरकारले तोकेका प्रदेश प्रमुख र राजधानी नवनिर्वाचित सरकारले मान्न बाध्य नहुने समेत एमाले प्रष्ट पारेको छ ।

खरेलले भने, ‘चुनाव हारेपछि झोला बोकेर घर जानुपर्ने मान्छेले तोकेका प्रदेशका प्रमुख र राजधानी अरुले किन मान्ने ? उहाँले तोकेको राजधानीले भोलि स्थानीय जनतामा समस्या ल्यायो भने त्यसको जिम्मेवार को हुन्छ ? उहाँले यस्तो काम नगरेको राम्रो ।’

कमेन्टहरु
Loading...