कानुन विपरीत अमेरिकी नागरिक मिसेलले डोनेसन उठाएको आरोप !

पोखरा, २३ पुस/अमेरिकी नागरिक मिसेल अलेक्जेंद्रा वेल्स विरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । बिजनेस भिसामा नेपाल रहिआएकी मिसेलले आफु नेतृत्वको संस्थाबाट अवैधानीक तवरले रकम उठाएको भन्दै उजुरी परेको हो ।

मिसेलको नेतृत्वमा पोखरा न्यूरोडमा लर्निङ हाउस प्राइभेट लिमिटेड सञ्चालनमा छ । सो संस्थाको उद्धेश्य विपरित विभिन्न कार्यक्रमहरु मार्फत रकम उठाएको बताइएको छ । मिसेलले लर्निङ हाउसले सञ्चालन गर्ने व्यवसायीक कार्यक्रमलाई ‘खाता लाइफ’ नामक वेबसाइटमार्फत समाजसेवाको नाममा ७ लाख अमेरिकी डलर (८ करोड नेपाली) उठाइसकेको उनकै व्यक्तिगत वेबसाइटमा उल्लेख छ ।

लर्निङ हाउसमार्फत सञ्चालीत कार्यक्रमलाई अमेरिकामा दर्ता भएको ‘खाता लाइफ’ वेबसाइटबाट प्रचलित कानुन विपरीत प्रयोग गरी आफ्नै मुलुकमा पसा आर्जन गरेको उजुरी जिल्ला प्रशासन कार्यालय कास्कीमा परेको छ ।

मिसेलले २ वर्षयता दर्जनभन्दा बढी कार्यक्रमसमेत आयोजना गरिसकेकी छिन् । उनले आयोजना गर्ने कार्यक्रम अधिकांश महिला लक्षीत छन् । लेडिज पुल पार्टी, हाइक एण्ड वाइन, फेसन एन्ड ब्यूटी सोहो बार, ड्रिम ओ पुल पार्टी लगायत उनले सञ्चालन गरेको कार्यक्रम हुन् । ती सबै कार्यक्रमबाट टिकट बिक्री गर्ने र रकम उठाउने प्रयोजनका लागि उनले ‘वुमन अन्ली’ फेसबुक सेक्रेट ग्रुप बनाएकी छन् ।

त्यहाँ उनले चिनजानका र उनका सहयोगी गरेर ४ सयभन्दा बढी सदस्य बनाएकी छिन् । लर्निङ हाउस मै सञ्चालन कार्यक्रमको पनि उनले रसिद उपलब्ध नगराएको उजुरीमा उल्लेख छ । मनोरञ्ना सम्बन्धी कार्यक्रम सञ्चालनका लागि स्थानीय तह, प्रशासन र जिल्ला प्रहरीलाई जानकारी हुनुपर्ने नियम लत्याउदै मिसेलले मदिरासम्बन्धी कार्यक्रम सञ्चालानार्थ अनुमति नलिएको आरोप छ ।
उजुरीकर्ताले गत मंसिर २२ गते पोखरा अध्यागमनमा संस्था र सञ्चालीका दुवै अवैधानिक गतिविधिमार्फत आयआर्जनमा लागेको भन्दै उजुरी दिए पनि कारबाही भएको छैन । अध्यागमनको क्षेत्राधिकारमा विदेशी नागरिकको निगरानी र कारवाही सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै अध्यागमनले आफूले हेर्न नसक्ने भन्दै पन्छिएपछि उजुरीकर्ता जिल्ला प्रशासन कार्यालय कास्कीको शरणमा पुगेका हुन् ।

अध्यागमनमा दर्ता गराएको उजुरी र पुस १० गते प्रशासनमा दर्ता गराएको उजुरीसहित यथाशिघ्र विदेशी नागरिकको अवैधानिक क्रियाकलाप रोक्न अख्तियार दुरुपयोग अनुसन्धान प्रशासनले पुष १० गते नै जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्रमार्फत छानबिन र कारवाहीका लागि आदेश दिएको छ ।

कमेन्टहरु
Loading...