पोखरामा बलात्कारको आरोप लगाउँने युवती नै जेल परिन्

केशवशरण लामिछाने
पोखरा, २८ चैत /स्याङ्जा घर भई पोखरा बस्दै आएकी एक युवतीले आफूमाथि बलात्कार भएको भन्दै कास्की प्रहरीमा जाहेरी गरिन् । उनले दिएको जबरजस्ती करणी र चोरीको जाहेरीका आधारमा प्रहरीले युवकलाई पक्राउ ग¥यो ।

सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी र चोरी सम्बन्धी मुद्दा चलायो। तर युवतीले भनेजस्तो आरोप प्रमाणित भएन । न्यायाधीश काजीबहादुर राईले झुठो आरोप लगाएको अभियोगमा युवतीलाई नै १ महिना जेल सजाय तोकेर फैसला गरे ।

देवीसिद्धचोक (अदालतमा उल्लिखित परिवर्तित नाम) नामकी ती युवती यही चैत ५ गते कास्की कारागार चलान भएकी थिइन्। यसबीचमै कोरोना भाइरसको संत्रास फैलियो। सर्वाेच्च अदालतले १ वर्षभन्दा कम सजाय तोकिएका र अरु रीत पुग्ने बन्दीले पैसा तिरेर कैद किन्न पाउने निर्णय चैत ७ गते र्गयो।

देवीलाई उक्त निर्णय वरदान भयो। ५ गते जेल परेकी उनले निवेदन दिइन्, जेल भुक्तान हुन बाँकी २५ दिनको दिनका ३०० का दरले ७ हजार ५ सय रुपैयाँ बुझाइन् र १० चैतमा मुक्त भइन्। सरकारले ११ गतेबाट देशभर लकडाउन घोषणा गरेपछि सबैजना घरघरमै बन्दी हुन बाध्य भए। त्यसको अघिल्लो दिनसम्ममात्र ‘देवी’ साँच्चीकै कारागारको बन्दी थिइन्।

फौजदारी कार्य्विधि संहिता २०७४ को दफा १५५ मा कैद बापत रकम तिर्न सकिने व्यवस्था छ। सोही व्यवस्था अनुसार प्रक्रिया पुग्ने बन्दी रिहा गर्न सकिने निर्णय सर्वाेच्च अदालतको पूर्ण इजलासले गरेको थियो।

उक्त दफामा भनिएको छ, ‘कुनै कसूरमा पहिलोपटक कसूरदार ठहरी एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय भएको मुद्दामा कसूरदारको उमेर, कसूरको गम्भीरता, कसूर गरेको तरिका, आचरण समेतलाई विचार गर्दा कारागारमा राख्नु उपयुक्त नदेखिए तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा पुग्ने समेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यस बापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठहर्याएमा कैद बापतको रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश दिन सक्नेछ।’

सोही कानुन व्यवस्थाअनुसार देवीले निवेदन दिएपछि कास्की जिल्ला अदालतका न्यायाधीशले १० चैतमा उनलाई जेलमुक्त आदेश गरेका थिए। देवी जसरी नै कैद वापतको रकम तिरेर जेलमुक्त हुनेहरुको संख्या शुक्रबारसम्म कास्कीमा १२ जना पुगेको छ। फौजदारी कार्य्विधि संहिताको दफा १५५ को व्यवस्था अनुसार निवेदन दिन सक्ने कैदी कास्कीमा १६ जना थिए। त्यसमध्ये ३ जनाको निवेदन भने न्यायाधीशबाट अस्वीकृत भएको र १ जनाले भने निवेदन दिनै बाँकी रहेको कास्की कारागार प्रमुख जेलर गणेश गौतमले जानकारी दिए।

कास्की अदालतका निमित्त स्रेस्तेदारसमेत रहेका तहसिलदार हरिश्चन्द्र गौतमका अनुसार १२ जनामध्ये १० जना जिल्ला अदालतको आदेशमा मुक्त भएका हुन्। अरु २ जना भने पुनरावेदन गएका थिए। तिनीहरु पुनरावेदनको आदेशमा छुटे। १ वर्षभन्दा कम सजाय तोकिएका कैदी कास्की कारागारमा अरु ६० जना रहेको जेलर गौतमले जनाए। उनले भने, ‘तर तिनीहरुले कैद वापतको रकम तिर्ने प्रक्रिया पूरा हुँदैन, किनभने उनीहरु पहिलोपटक कसुर गरेका नभई पटके हुन् ।’

अन्नपुर्णपोष्ट डटकमबाट

http://annapurnapost.com/news/152902

कमेन्टहरु
Loading...