पत्रकार पौडेललाई थमन महेश पत्रकारिता पुरस्कार

पोखरा,१० जेठ / नेपाल पत्रकार महासङ्ग गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेललाई थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिने भएको छ ।

पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार तथा अर्का सञ्चारकर्मी महेश पहारीको स्मृतिमा तत्कालीन क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको सो पुरस्कार प्रेस सेन्टर कास्कीले सञ्चालन गर्दै आएकोमा अवबाट प्रेस सङ्गठन नेपाल कास्कीले सञ्चालन गर्ने भएको हो ।

सो पुरस्कारको राशी नगद रु. २५ हजार, ताम्रपत्र तथा दोसल्ला रहेको छ । पुरस्कारका लागि प्रतिभा छनोट गर्न प्रेस सङ्गठन कास्कीले गठन गरेको छनोट समितिले गरेको सिफारिसलाई आज बसेको सङ्गठनको बैठकले अनुमोदन गरी युवा पत्रकार पौडेललाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

अग्रज पत्रकार कोलमनाथ बरालको संयोजकत्वमा रहेको छनोट समितिमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, गोमा घिमिरे तथा प्रेस सङ्गठनका नेताहरु माधव बराल र सन्देश श्रेष्ठ सदस्य रहनुभएको थियो ।

एक दशकदेखी जनपक्षिय तथा जनजिविकाको सवालमा कलम चलाउदै आईरहेका एक जना सञ्चारकर्मीलाई वर्षेनी सो पुरस्कारबाट पुरस्कृत गर्ने गरिएको छ ।

वि.सं २०५७ सालमा स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका पौडेल वि.सं २०५९ सालदेखी पोखरा हटलाईन दैनिकको संवाददाता हुँदै हाल सम्पादक छन् । उनले रेडीयो अन्नपूर्ण, नेपाल टेलिभिजन, युगप्रवाह साप्ताहिकमा पनि काम गरे ।

क्रान्तिकारी पत्रकार संघको संस्थापक उपाध्यक्ष रहेका पौडेल जनयुद्धकाल देखीनै जनपक्षिय पत्रकारिता क्रियाशिल थिए । पत्रकार महासंघ कास्की शाखाको दुई कार्यकाल सचिव भएर महासंघको भवन निर्माणमा उल्लेखनीय योगदान गरेका पौडेल उपाध्यक्षमा निर्वाचित भएको केही महिनापछि पत्रकार महासंघ गण्डकीको अध्यक्षमा निर्वाचित भएका थिए ।

पौडेल यसअघि प्रेस काउन्सिले प्रदान गर्दै आएको प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका थिए । उनले अर्थमन्त्रालयको सञ्चार तथा सूचना विज्ञको रुपमा समेत केही समय काम गरे । आम सञ्चार विषयमा स्नातकोत्तर उर्तीण पौडेलले अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया, मलेसिया, सिँगापुर, चीन, बंगलादेश, दुवई, भारत लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरी सकेका छन् ।

वि.सं. २०४३ सालमा पिता स्व. नारायण पौडेल तथा माता पवित्रा पौडेलको कोखबाट पर्वतको आर्थरमा पौडेलको जन्म भएको हो । सो पुरस्कारबाट यसअघि कोमलनाथ बराल, महेश्वर दाहाल, रुद्र भट्ट र गोमा घिमिरे पुरस्कृत भईसकेका छन् ।

जेठ १३ गते कृष्ण सेन ईच्छुक स्मृति दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी पौडेललाई पुरस्कार अर्पण गरिने प्रेस सङ्गठन कास्कीका नेता कृष्ण दवाडीले जानकारी दिए ।

कमेन्टहरु
Loading...