कवि शिरोमणि लेखनाथ पौडेलको गाउँ तरुण तपसीपार्कमा बृक्षारोपण

पोखरा, १४ साउन/लायन्स क्लब अफ पोखरा तालवाराहीले कवि शिरोमणि लेखनाथ पौडेलको गाउँ तरुण तपसीपार्कमा बृक्षारोपण गरेको छ । पोखरा लेखनाथ–२७, ठूलीपोखरीस्थित उक्त पार्कमा क्लबले कपुर, निम, बेल र धुपी जातका विरुवाहरु रोपेको हो। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ को आब्हनमा प्रत्येक लायन्स क्लबहरुले गर्नुपर्ने मानवीय र सामाजिक सेवा अन्तरगत बृक्षारोपण गरिएको कार्यक्रम संयोजक लायन सोबित थापाले बताए । क्लबका द्धितिय उपाध्यक्षसमेत रहेका लायन थापाले विगत ३ वर्षदेखि तरुण तपसीपार्कमा क्लबले बृक्षारोपण गर्दै आएको जनाए ।

इभालुएसन कमिटि चिफ लायन तीर्थलाल श्रेष्ठले लायन्स क्लब तालबाराहीले उत्कृष्ट मानवीय एवं सामाजिक कार्य गर्दै आएको उल्लेख गरे । लायन श्रेष्ठले तरुण तपसीपार्कलाई सुन्दर बनाउन क्लबलाई आग्रह गरे। जोन चियर पर्सन लायन दीपेन्द्र राईले बृक्षारोपण गरिएका विरुवाहरुको संरक्षण गर्न आग्रह गरे । तरुण तपसीपार्क र बृक्षारोपण गरिएका विरुवाहरुको संरक्षणमा जुटेका स्थानीयवासीहरुलाई लायन राईले धन्यवाद दिए ।

बृक्षारोपण गर्ने कार्य लायन्स क्लबहरुको समाजसेवा कार्य रहेको उल्लेख गरे । डिस्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठले ल्याएको लायन वर्ष ०१८÷०१९ मा ‘दिएर बाँचौ’ भन्ने नारालाई यस्तो कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए । कार्यक्रममा स्थानीय ठूलीपोखरा टोलविकास संस्थाका अध्यक्ष दिनानाथ पौडेलले संस्थाले तरुण तपसीपार्क र यहाँ रोपिएका विरुवाहरुको संरक्षण गर्ने प्रतिबद्धता जनाए । क्लबका अध्यक्ष बासु जिसीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक तथा द्धितिय उपाध्यक्ष सोबित थापाले स्वागत र कार्यक्रममाथि प्रकाश, प्रथम उपाध्यक्ष नारायण पहारीले धन्यवाद ज्ञापन र सचिव नारायणप्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...