टान पश्चिमाञ्चलद्धारा स्ट्रेचर हस्तान्तरण

पोखरा, ९ जेठ /टान पश्चिमाञ्चल क्षेत्रीय समिति पोखराले अन्नपूर्ण सेन्चुरी पर्यटन समितिलाई १५ थान स्ट्रेचर हस्तान्तरण गरेको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरण अन्तर्गत मुख्य आकर्षणका रुपमा रहेको अन्नपूर्ण म्याराथनको सहयोग स्वरुप ती स्ट्रेचर हस्तान्तरण गरिएको हो ।

महोत्सवको सहयागी संस्था समेत रहेको टान क्षेत्रीय समितिका अध्यक्ष दीपकराज अधिकारी र जापानी स्वयंसेवी यामागिसी योसीले महोत्सव मूल व्यवस्थापन समतिका संयोजक ललित गुरुङलाई मंगलबार एक समारोहबीच संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

स्थानपनाको २५ औं वर्षको अवसरमा टानले यसवर्ष रजतजयन्ती मनाइरहको छ । यसै सन्दर्भमा अन्नपूर्ण पदयात्रा क्षेत्रमा रहेका विभिन्न पदमार्गहरुमा आपत्तकालीन उद्दारमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्ट्रेचर वितरण गरिएको टानका क्षेत्रीय अध्यक्ष अधिकारीले बताए । जापानी स्वयंसेवी यामागिसी योसीले विश्वकै उत्कृष्ट पदयात्रा मार्गमा आपत्तकालीन उद्दारका लागि स्ट्रेचर सहयोग गर्न पाउँदा आफू र आफ्नो समूहलाई खुशी लागेको बताइन ।

सोही अवसरमा अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत रहेका घोडेपानी, अन्नपूर्ण आधारशिविरसहित मर्दी हिमाल पदयात्रा मार्ग, कपुचे ताल पदयात्रा मार्ग, माछापुच्र्छे मर्दी पदयात्रामार्ग लगायतका स्थानहरुका लागि पनि स्ट्रेचर हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका स्ट्रेचरहरु जापनी नागरिक ओनोडा काजुयोले सहयोग गरेकी थिइन ।

अन्नपूर्ण पदयात्रा मार्गको प्रचाप्रसार एवं अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण सेच्नुरी पर्यटन महोत्सव–२०७४ आयोजना गरेको हो । गत असोज २५ गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरण गत पुस १० देखि १५ गतेसम्म विविध खेलकूद एवं साँस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको थियो ।

महोत्सवको तेस्रो चरण यही जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथुन सहित विविध खेलकूद एवं मनोरञ्जनात्मक कार्यक्रमका साथ घान्द्रुकमा समापन गरिने महोत्सव मुल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...