पर्यटन सम्बद्ध मजदुरलाई टानद्धारा राहत, महानगरलाई १ लाख रकम प्रदान

पोखरा, १५ वैशाख/ ट्रेकिङ्ग एजेन्सिज एसोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले उनीहरु सगँ आवद्ध मजदुरहरुलाई राहत वितरण गरेको छ । लकडाउन बन्दाबन्दीले पर्यटन सम्बद्ध विशेष गरी ट्रेकिङ्गमा काम गर्दै आएका ८६ मजदुरहरुलाई राहत प्रदान गरेको हो ।

टानमा आवद्ध एक सय ६० कम्पनीलाई पत्राचार गरेर कम्पनीमा आवद्ध अति विपन्न मजदुरको नाम सङ्कलन गरेर राहत बाँडेको सचिव जीवन सापकोटाले जानकारी दिए । उनले १४ सय बराबरको राहत दिएको बताए । राहतमा १५ केजी चामल, २ केजी दाल, एक पोका चना, मस्यौरा, एक लिटर तेल, नुन र साबुन प्रदान गरिएको छ ।

पोखरामा हाल करिब १५ सय जना अनुमति पत्र प्राप्त ट्रेकिङ्ग भरीया रहेका छन् । ति मध्ये पनि अति असहज अवस्थामा दैनिकि गुजारीरहेका मजदुरको पहिचान गरेर राहत वितरण गरेको टान अध्यक्ष हरि भुजेलले जानकारी दिए । भुजेलले अहिले पर्यटन क्षेत्र सम्बद्ध मजदुर निकै कठिन अवस्थामा रहेकाले मजदुर कल्याकारी कोषमा जम्मा भएको रकमबाट राहत दिनुपर्ने बताए ।

नेपालमा पर्यटकको आगमन तत्काल हुन नसक्ने भन्दै सरकारले ट्रेकिङ्ग व्यवसाय सञ्चालकलाई पनि विशेष प्याकेज ल्याएर राहत दिनुपर्ने टानका प्रथम उपाध्यक्ष सुशिलराज पौडेल बताए । सोही अवसरमा टान पोखराले पोखरा महानगरपालिकाको राहत कोषको लागि ५० हजार र पोखरा वडा नम्बर ६ को राहतका लागि ५० हजार गरी नगद एक लाख सहयोग प्रदान गरेको छ । उक्त रकमको चेक ६ का अध्यक्ष जगत पहारीलाई टानका अध्यक्ष हरी भुजेलले प्रदान गरे ।

कमेन्टहरु
Loading...