टान पश्चिमाञ्चलको २७ औं स्थापना दिवस मानव सेवा आश्रममा

पोखरा, १९ भदौ / ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले आफ्नो २७ औं स्थापना दिवस मानव सेवा आश्रममा बृद्ध वृद्धा, असहाय र असक्तसँग मनाएको छ ।

पदयात्रा व्यवसायीहरुको छाता संगठन टानले व्यवसायिक हकहितका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो स्थापना दिवस मानवआश्रममा मनाएको हो । आश्रममा आश्रीतहरु ९६ जनालाई खाद्यान्न जुस, नगद सहयोग गरेर मनाएको संस्थाका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

मानव चेतनशील प्राणि भएकाले मानवीयतालाई जहिल्यै केन्द्रविन्दुमा राखेर सामाजिक सेवाभावबाट अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । आश्रमका बुबा आमाको अनुहारमा सानो खुशी ल्याउन मानवीयताको भावनलाई जागृत गराउन आश्रम आएर स्थापना दिवस मनाएको टानका महासचिव जीवन सापकोटाले बताउनुभयो ।

आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले मानव मानव बीचको सम्बन्ध र दुरीलाइ नजिक ल्याउन सक्नुनै उत्कृष्ट सेवा भएको बताउनु भयो । एक अर्काप्रतिको माया र सम्मान अनि मानवीयताले समाजलाई सकारात्मकता पैदा गर्ने उहाँको भनाई थियो । स्थापना दिवसमा आश्रम सम्झेकोमा संस्थालाई आभार व्यक्त गर्नुभयो ।

सोहि अवसरमा टानले आफ्नो संस्थाका संस्थापकलाई समेत सम्झेको छ । अध्यक्ष हरि भूजेल नेतृत्वको कार्य समितिले बिहीबार सस्थापंक अध्यक्ष राम बहादुर श्रेष्ठलाई उहाँकै निवासमा पुगेर भेटि खादा लगाएर सम्मान गरेको संस्थाका उपाध्यक्ष शुसिल पौडेलले बताउनुभयो ।

“इतिहास विर्सनु हुदैन, अग्रजको योगदानकै कारण संस्थाले आज २७ औं स्थापना दिवस मनाउन सफल भएको हो” पौडेलले भन्नुभयो ।  संस्थाको जगलाई बलियो बनाउने अग्रज व्यत्तित्वको सम्मानका लागि र उहाँको सुस्वास्थ्यको कामनाकालागि उहाँको निवास पुगेको अध्यक्ष भुजेलले बताउनुभयो ।

टानको टोली देख्दा १२ वर्ष देखि ब्रेनह्यामरेजको समस्याले थलिएका श्रेष्ठ भावुक हुनुभएको थियो । २७ वर्ष पछि संस्थाले आफुलाई सम्झेकोमा निकै खुशी लागेको बताउनुभयो ।

कमेन्टहरु
Loading...